सिरहा, १ मंसिर । गाउँ ब्लक जग्गा फुकुवाको माग गर्दै लहानस्थित मालपोत कार्यालयको मुख्य प्रवेशद्वारमै गाउँ ब्लक संघर्ष समिति लहानले धर्ना सुरु गरेको छ ।

लहान नगरपालिकामा झण्डै सात हजार हाराहारीका स्थानीयवासी वर्षौंदेखि जग्गा फुकुवा नहुँदा अकमल्ल बनिरहेका बेला संघर्ष समितिले आन्दोलनलाई चरणबद्ध रूपमा कडा बनाउँदै लगेको छ ।

स्थानीयहरूका अनुसार गाँव ब्लक जग्गा फुकुवा नहुँदा बैंकबाट हुने वित्तीय कारोबार, जग्गा बिक्री–बितरण, पास–प्रमाणपत्र लगायतका काम ठप्प बनेका छन् ।

‘जग्गा फुकुवा नभएसम्म हामी कुनै पनि कानुनी तथा आर्थिक प्रक्रिया अघि बढाउन सक्दैनौँ,’ लहान–९ का नेपाली साहले भने ।

समस्या समाधानमा सहयोग पुगोस् भन्ने उद्देश्यले लहान–६ का पूर्व वडाध्यक्ष अरुण केसीको संयोजकत्वमा संघर्ष समिति गठन गरिएको र समितिले निरन्तर दबाबमूलक कदम चाल्दै आएको छ ।

संघर्ष समितिका संयोजक केसीका अनुसार मालपोत कार्यालय लहानका प्रमुख डमरुप्रसाद निरौला विगतको सहमति कार्यान्वयनमा उदासीन देखिएका छन् ।

‘निरौलाले लामो समयदेखि नियमित रूपमा कार्यालयमा नबस्ने, कर्मचारी अभाव देखाएर प्रक्रिया अघि नबढाउने गर्दै आएका छन्,’ उनले आरोप लगाए । समितिको आग्रहपछि लहान नगरपालिकाले कम्प्युटर र दुई जना कर्मचारीसमेत उपलब्ध गराए पनि कार्य अघि नबढेपछि आन्दोलन झन् चर्किएको केसीले बताए ।

संघर्ष समितिले मंसिर २ गतेदेखि आमरण अनशनमा बस्ने कार्यक्रम सार्वजनिक गरेको छ । कार्यान्वयनका लागि मन्त्रिपरिषद् स्तरीय निर्णय भइसके पनि मालपोत कार्यालय प्रमुख निरौलाको आलटाल प्रवृत्तिका कारण आन्दोलन गर्न बाध्य भएको लहान–५ का नेपाली कांग्रेस नेता रामसुन्दर चौधरीले बताए ।

यसैबीच, प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले समस्या समाधानका लागि प्रशासन सक्रिय भएको जानकारी दिएका छन् । ‘हामीले सबै विवरण संकलन गरिसकेका छौँ, अब मालपोत प्रमुखसँग छलफल गरी छिट्टै समाधान निकालिन्छ,’ प्रजिअ पौडेलले भने ।

गाउँ ब्लक जग्गा फुकुवाको माग वर्षौंदेखि स्थगित हुँदै आएकोमा यसपटक स्थानीयको आक्रोश र संघर्ष समितिको कडा आन्दोलनका कारण प्रशासनिक तथा राजनीतिक तहमा चासो बढेको छ । समाधान नआए आन्दोलनको दबाब अझ चर्किंदै जाने संघर्ष समितिले चेतावनी दिएको छ ।