सर्लाही, १ मंसिर । सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा उखुको बक्यौता रकम माग गर्दै सुरु गरिएको किसानको धर्ना चार बुँदे सहमतिसहित स्थगित भएको छ ।

सदरमुकाम मलङ्गवास्थित जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाको अध्यक्षतामा बसेको छलफलमार्फत सहमति भएको हो ।

सहमति अनुसार यस आर्थिक वर्षमा उद्योगले उखु क्रसिङका क्रममा हुनसक्ने वातावरणीय प्रदूषण न्यूनिकरण गर्न आवश्यक उपाय अवलम्बन गर्नेछ ।

गत वर्ष चिनी मूल्य निर्धारणपछि बाँकी रहेको रकम किसानलाई तिर्ने, यसअघिका उद्योगपति राकेशकुमार अग्रवालले किसानलाई दिन बाँकी भुक्तानी एक महिनाभित्र पूर्ण रूपमा बुझाउने प्रतिबद्धता समेत गरेको छ । साथै उखु मिल सहज रूपमा सञ्चालन गर्न सबै पक्षले सहयोग गर्ने सहमति बनेको छ ।

छलफलमा उद्योगपति शैलेन्द्र गुप्तासमेत सहभागी भएका थिए । सहमतिपछि आन्दोलन स्थगित गरिएको किसान अगुवा रामआधार रायले जानकारी दिँदै अब आफूहरू बक्यौता रकम भुक्तानी हुने आशावादी रहेको बताए ।