सर्लाही, १ मंसिर । लागुऔषध नियन्त्रण अभियानलाई कडा बनाउँदै सर्लाही प्रहरीले सोमबार बिहान ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।

लालबन्दी नगरपालिका–६ स्थित शिव मन्दिर नजिकबाट ३८ किलो ८९० ग्राम गाँजा फेला पारिएको हो ।

इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा आइतबार रातिदेखि नै प्रहरी टोली परिचालन गरिएको थियो । चुरेवर्ती क्षेत्रबाट ठूलो मात्रामा लागुऔषध ओसारपसार हुँदैछ भन्ने सुराकी आएपछि प्रहरी टोलीले शिव मन्दिर आसपासमा ‘एम्बुस’ बसेर निगरानी गरेको हो ।

प्रहरीका अनुसार भित्री बाटो हुँदै ल्याइँदै गरेको गाँजा दुई सवारी साधनमा भेटिएको छ । प्रदेश–२–०३००१ ह ३२८ नम्बरको अटोबाट एक पोका र ना ६० प ५५६ नम्बरको मोटरसाइकलबाट ६ पोका गाँजा भेटिएको हो ।

ओसारपसारमा संलग्न हरिवन नगरपालिका–१ पटौनाका ५५ वर्षीय बद्रीबहादुर श्रेष्ठलाई घटनास्थलमै पक्राउ गरिएको इन्स्पेक्टर जोहारीले जानकारी दिए । उनी अटोमा सवार थिए ।

तर, मोटरसाइकलमा रहेका व्यक्तिहरू भने प्रहरी पुगेपछि फरार भएको र उनीहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

स्थानीय भित्री मार्ग र लखन्देही खोलाको किनारबाट लागुऔषध ओसारपसार हुँदै आएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । प्रहरीले गाँजा कहाँबाट ल्याइएको थियो र पछि कसलाई आपूर्ति गरिन्थ्यो भन्नेबारे थप अनुसन्धान सुरु गरेको छ ।