सर्लाहीमा ‘सर्भर डाउन’: नयाँ र प्रतिलिपि नागरिकता सेवा ठप्प

सर्लाही, १ मंसिर । प्राविधिक गडबडीका कारण सोमबार सर्लाही जिल्लाभरि नयाँ तथा प्रतिलिपि नागरिकता जारी गर्ने सेवा पूर्ण रूपमा अवरुद्ध भएको थियो । जिल्ला प्रशासन कार्यालय सर्लाहीले केन्द्रिय सर्भरमा समस्या देखिएपछि सेवा स्थगित गर्ने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार केन्द्रबाट सिधै सर्भरमा खराबी आएपछि जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयहरू र सदरमुकाम मलङ्गवा हुँदै हरिवन र बरहथवा कार्यालयसम्म नागरिकतासम्बन्धी सबै प्रक्रिया ठप्प भएको छ ।
‘सर्भरमा समस्या देखिएपछि सम्बन्धित प्राविधिक समूह समाधानका लागि काम गरिरहेछ,’ प्रजिअ कडरियाले भने ।
सर्भर बिग्रिएसँगै बिहानैदेखि सेवा लिन आएका सेवाग्राहीलाई लामो समय कार्यालय परिसरमै अल्झिनुपरेको थियो । कतिपय टाढाबाट आएका नागरिकले अनावश्यक रूपमा कुर्नु नपरोस् भनेर कार्यालयले आधिकारिक सूचना जारी गर्दै सबै नागरिकता सम्बन्धी सेवा बन्द गरिएको जनाएको छ ।
प्रजिअ कडरियाका अनुसार प्राविधिक मर्मत सकिएलगत्तै सेवा पुनः सुचारु गरिनेछ ।
सर्भर समस्या कहिले समाधान हुन्छ भन्ने निश्चित समय भने प्राविधिक टोलीले अझै नबताएको कार्यालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

