थुनुवा छुटाइदिने भन्दै एक लाख रुपैयाँ लिएको आरोपमा वडाध्यक्षका प्रत्याशी पक्राउ
रौतहट, २७ भदौ । प्रहरीको नाम र पहुँच प्रयोग गरी थुनुवालाई छुटाइदिने भन्दै एक लाख रुपैयाँ लिएको आरोपमा रौतहटमा वडाध्यक्ष पदका एक प्रत्याशी पक्राउ परेका छन् ।
गरुडा नगरपालिका–९ श्रीपुरका वडाध्यक्ष पदका प्रत्याशी शेख हुसैनलाई ठगीसम्बन्धी आरोपमा प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको हो ।
श्रीपुरमा भएको झगडाका क्रममा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा रामजन मियाँ पक्राउ परेका थिए ।
त्यसपछि हुसैनले मियाँकी श्रीमतीलाई प्रहरीसँग कुरा गरेर मुद्दा मिलाइदिने तथा श्रीमानलाई छुटाइदिने आश्वासन दिएको आरोप छ । सोही आश्वासनमा उनले एक लाख रुपैयाँ लिएको बताइएको छ ।
तर, रकम बुझाएपछि पनि मियाँ रिहा नभएपछि उनकी श्रीमतीले आफू ठगीमा परेको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन् । जाहेरीका आधारमा हुसैनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकरप्रसाद आचार्यका अनुसार प्रहरीको नाममा रकम असुली गरेको आरोप गम्भीर भएकाले हुसैनलाई पक्राउ गरी जिल्ला अदालत गौरबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ ।
यसै घटनामा गरुडा नगरपालिका–९ का वर्तमान वडाध्यक्ष राजेश सहनीविरुद्ध पनि थुनुवा छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा जाहेरी परेको छ । सहनीमाथि लागेको आरोपबारे समेत प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
तर, सहनीले भने रामजनलाई छुटाउन आफूले कसैसँग रकम नलिएको भन्दै आरोप अस्वीकार गरेका छन् ।
घटनामा अन्य व्यक्तिको संलग्नता भए/नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


