मधेशमा उच्च सतर्कता, राजनीतिक घटनाक्रमपछि प्रहरी हाई अलर्टमा

जनकपुरधाम, १४ चैत । देशमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमले सुरक्षा चुनौती बढ्ने देखिएपछि मधेश प्रदेशमा व्यापक सतर्कता अपनाइएको छ ।
प्रहरी प्रधान कार्यालयको निर्देशनपछि मधेश प्रदेशका सबै जिल्लामा उच्च सुरक्षा व्यवस्था कडाइका साथ लागू गरिएको छ ।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउसँगै सम्भावित विरोध प्रदर्शन, आन्दोलन तथा अन्य गतिविधिलाई ध्यानमा राख्दै प्रहरी मुख्यालयले मधेश प्रदेश प्रहरीलाई ‘हाई अलर्ट’मा बस्न सर्कुलर जारी गरेको हो ।
उक्त निर्देशन शनिबार बिहानदेखि नै कार्यान्वयनमा आएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाका अनुसार गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको समन्वयमा जारी निर्देशनअनुसार सम्पूर्ण सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको छ ।
उनले भने, ‘देशको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै सम्भावित सुरक्षा चुनौतीलाई नियन्त्रणमा राख्न सबै प्रहरी युनिटहरूलाई सक्रिय र सतर्क रहन निर्देशन दिइएको छ ।’
उनका अनुसार हाई अलर्ट लागू भएसँगै प्रदेशका ८ वटै जिल्लामा सुरक्षा निगरानी तीव्र बनाइएको छ ।
प्रत्येक जिल्लाका प्रहरी प्रमुखसँग समन्वय गरेर आवश्यक जनशक्ति परिचालन गरिएको छ भने संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी बढाइएको छ ।
‘हामीले राजनीतिक गतिविधि, सम्भावित प्रदर्शन र अन्य गतिविधिहरूलाई सूक्ष्म रूपमा अनुगमन गरिरहेका छौं,’ डिआइजी थपलियाले भने ।
प्रहरी स्रोतका अनुसार उच्च सतर्कताका कारण तत्कालका लागि सम्पूर्ण प्रहरी कर्मचारीहरूको बिदा पनि स्थगित गरिएको छ । यसले कुनै पनि आकस्मिक अवस्थालाई तत्काल सम्बोधन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।
करिब सात महिना अघि भदौ महिनामा भएको ‘जेनजी आन्दोलन’ सम्बन्धी घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगको सिफारिसका आधारमा पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गरिएको हो ।
यस घटनाले राजनीतिक वृत्तमा तरंग पैदा गरेको छ भने त्यसको प्रभाव मधेश प्रदेशमा पनि देखिन सक्ने सुरक्षा निकायको आकलन छ ।
प्रहरीले सम्भावित विरोध प्रदर्शन, जुलुस, बन्दलगायत गतिविधि हुन सक्ने भन्दै अग्रिम तयारी स्वरूप रणनीति बनाएको जनाएको छ ।
मधेस प्रदेशका पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्लामा सुरक्षा व्यवस्था थप मजबुत पारिएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशभर १० हजारभन्दा बढी प्रहरी जनशक्ति परिचालन योग्य अवस्थामा राखिएको छ । आवश्यक परे थप जनशक्ति परिचालन गर्न सकिने व्यवस्था पनि मिलाइएको छ ।
सुरक्षा निकायले नागरिकलाई अफवाहमा नलाग्न, शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न र कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


