जनकपुरधाम, १३ चैत । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार मधेश प्रदेशमा सम्पन्न दुई खेलमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रंगशालामा भएको खेलमा मधेश प्रदेशले लुम्बिनी प्रदेशलाई २५ रनले पराजित गर्दै महत्वपूर्ण जित दर्ता गर्‍यो ।

टस जितेर पहिले ब्याटिङ गरेको मधेशले ३८.१ ओभरमा सबै विकेट गुमाउँदै १२४ रन बनाएको थियो । मधेशका लागि मयन यादवले ३१ रन बनाउँदा मो. आदिल आलमले २३, पवन सराफले १९ तथा अरनिको यादवले ११ रनको योगदान दिए ।

लुम्बिनीका बलर सन्देश थापाले ३ विकेट लिए भने सन्तोष यादवले पनि ३ विकेट हात पारे । अजय चौहानले २ तथा निर्मल गुरुङले १ विकेट लिए ।

१२५ रनको लक्ष्य पछ्याएको लुम्बिनी २६ ओभरमा ९९ रनमै समेटियो । सुमित श्रेष्ठले सर्वाधिक ३० रन बनाउँदा सन्देश थापाले १६ र कप्तान देव खनालले १२ रन बनाए । लुम्बिनीका चार खेलाडी शून्य रनमै आउट भए ।

मधेशका विशाल पटेलले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए । प्रदीप पासवानले २ विकेट लिँदा अन्य बलरहरूले समान १/१ विकेट लिए ।

पाँच विकेट लिएका पटेल ‘म्यान अफ द म्याच’ घोषित भए ।

यस्तै, वीरगञ्जस्थित नारायणी रंगशालामा भएको अर्को खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ७ विकेटले हरायो । पहिले ब्याटिङ गरेको कोशीले ४३.४ ओभरमा १३० रन बनाएको थियो ।

जवाफमा सुदूरपश्चिमले १९.५ ओभरमै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । खडक बोहोराले उत्कृष्ट ६६ रन बनाउँदा किरण ठगुन्ना २५ रनमा अविजित रहे । अभिषेक पालले १४ रनको योगदान दिए ।
कोशीका बलर विपिन महतोले २ विकेट लिए भने ज्ञानेन्द्र श्रेष्ठले १ विकेट लिए ।

यसअघि, कोशीका लागि शिव बजगाईँले २५, सुमन श्रेष्ठले २४ तथा दिपेश कँडेलले २० रन बनाएका थिए । सुदूरपश्चिमका हेमन्त धामीले ४ विकेट लिँदा किरण ठगुन्नाले २ विकेट लिए । उत्कृष्ट प्रदर्शन गरेका धामी ‘म्यान अफ द म्याच’ घोषित भए ।

हालसम्मको अंकतालिकामा मधेश प्रदेश ५ अंकसहित शीर्ष स्थानमा रहेको छ । तीन खेल खेलेको मधेशको एक खेल वर्षाका कारण रद्द भएको थियो भने बाँकी दुई खेलमा जित हात पार्दै शीर्ष स्थान सुरक्षित गरेको हो ।

प्रतियोगिता जनकपुरधाम, वीरगञ्ज र काठमाडौंमा जारी छ । शनिबार र आइतबार मधेश प्रदेशमा भने कुनै खेल तालिका छैन ।