सुनसरी, ९ फागुन । सुनसरीको भोक्राहा नरसिङ गाउँपालिका–४ मा शनिबार आयोजित चुनावी कार्यक्रमका क्रममा दुई दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले लाठीचार्ज गरेको छ ।

नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्न उम्मेदवार ज्ञानेन्द्र कार्की भोक्राहा पुग्ने क्रममा बाटोमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केही युवासँग जम्काभेट भएपछि विवाद चर्किएको थियो ।

प्रारम्भिक भनाभन पछि स्थिति तनावग्रस्त बन्दै जाँदा दुवै पक्षका कार्यकर्ताबीच झडप भएको स्थानीय स्रोतले जनाएको छ ।

परिस्थिति नियन्त्रणबाहिर जाने देखिएपछि प्रहरीले भीड तितरवितर गर्न लाठीचार्ज गरेको जनाएको छ ।

झडपका क्रममा केही कार्यकर्ता सामान्य घाइते भएको जानकारी प्राप्त भए पनि विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कांग्रेसको भ्रातृ संगठन तरुण दल र रास्वपाका कार्यकर्ताबीच तनाव बढेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

प्रहरी नायब उपरीक्षक केशव थेवेले अवस्था नियन्त्रणमा लिन बल प्रयोग गर्नुपरेको बताए ।

हाल घटनास्थलको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ भने आगामी कार्यक्रमलाई लक्षित गर्दै सुरक्षा सतर्कता बढाइएको छ ।