जनकपुरधाम, ६ माघ । धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट परमेश्वर साहले प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

जसपा नेपालका नेताकार्यकर्ताहरूको उपस्थितिसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै साहले मधेशका अधिकार, पहिचान र समावेशी विकासका मुद्दालाई केन्द्रमा राखेर आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको बताए । उनले संघीयताको प्रभावकारी कार्यान्वयन, किसान, मजदुर र युवासँग सम्बन्धित समस्यालाई प्राथमिकतामा राखेर संसद्मा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

पूर्व प्रदेशसभा सदस्यसमेत रहेका साह पछिल्लो निर्वाचनमा धनुषा ३ (क) बाट पराजित भएका थिए । त्यसबेला उनी तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट प्रदेशसभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएका थिए । अनुभव र सिकाइलाई यसपटक प्रतिनिधिसभामा उपयोग गर्ने उनको भनाइ छ ।

पार्टी एकीकरणपछि बनेको जसपा नेपालले धनुषा–३ का लागि साहलाई उम्मेदवार बनाएको हो ।