डा. अमरेश सिंह औपचारिक रूपमा रास्वपामा प्रवेश, ‘भ्रष्टाचारविरुद्ध निर्णायक लडाइँ’को घोषणा

जनकपुरधाम, ५ माघ । डा. अमरेश कुमार सिंह औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
सोमबार जनकपुरधाममा रास्वपाले आयोजना गरेको ‘परिवर्तनको उदघोष सभा’मार्फत उनी पार्टीमा आबद्ध भएका हुन् ।
कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साह, उपसभापति स्वर्णिम वाग्ले, सोविता गौतमलगायतका नेताहरूले सिंहलाई पार्टीमा स्वागत गरे ।
पार्टी प्रवेशपछि सम्बोधन गर्दै डा. सिंहले देशमा व्याप्त भ्रष्टाचार र बेथितिविरुद्ध निर्णायक संघर्ष आवश्यक रहेको बताए । उनले अब देशलाई पछाडि धकेल्ने प्रमुख शक्तिहरूको अन्त्य गर्ने समय आएको दाबी गर्दै कुनै पनि भ्रष्टाचारीलाई देशबाट उम्किन नदिने कडा अडान व्यक्त गरे ।
सिंहले बालेन यदी देशको प्रधानमन्त्री नबने आफूले रंगभूमी मैदानमा आत्मदाह गर्ने घोषणासमेत गरे । देशको तीनवटा खलनायकलाई समाप्त गर्ने समय आएको उनको भनाइ थियो । सिंहले देशबाट कुनै भ्रष्टाचारीलाइ भाग्न नदिइने अडान राखे ।
उनले नेतृत्वको विषयमा आफ्नो धारणा राख्दै देशले बलियो र परिवर्तनकारी नेतृत्व खोजिरहेको उल्लेख गरे । सिंहको भनाइमा हालको राजनीतिक अवस्थाबाट जनतामा व्यापक निराशा छ । यसलाई अन्त्य गर्न रास्वपाले वैकल्पिक राजनीतिको मार्ग प्रस्तुत गरेको छ ।
कार्यक्रममा सहभागी नेताहरूले डा. सिंहको प्रवेशले पार्टीलाई मधेशसहित देशव्यापी रूपमा थप सुदृढ बनाउने विश्वास व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

