महोत्तरी–३ बाट चुनाव लड्न बालेन साहलाई रास्वपा कार्यकर्ताको निम्तो

महोत्तरी, १ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महोत्तरीका कार्यकर्ता तथा युवा समाजका अगुवाहरूले महोत्तरी क्षेत्र नम्बर ३ बाट आगामी निर्वाचनमा उम्मेदवारी दिन काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई औपचारिक रूपमा निम्तो दिएका छन् ।
रास्वपाका अभियन्ता अनिल पाण्डे, विनीत पाण्डे लगायत दर्जनौँ युवाले काठमाडौंस्थित ज्वागलमा रहेका कुमार व्यञ्जनकारको निवासमा पुगेर बालेनसँग भेट गर्दै चुनाव लड्न आग्रह गरेका हुन् । भेटमा करिब एक घण्टा लामो छलफल भएको जनाइएको छ ।
भेटका क्रममा महोत्तरी क्षेत्र नम्बर ३ को राजनीतिक, सामाजिक तथा विकाससम्बन्धी वस्तुस्थितिबारे जानकारी गराउँदै उक्त क्षेत्रले वैकल्पिक र प्रभावशाली नेतृत्व खोजिरहेको पाण्डेले बताए ।
बालेनको पैतृक गाउँ महोत्तरी क्षेत्र नम्बर ३ अन्तर्गत पर्ने एकडारा गाउँपालिका भएकाले स्थानीय बासिन्दाले आफ्नै पुख्र्यौली भूमिबाट निर्वाचन लड्न आग्रह गरिरहेको कुरा पनि छलफलमा उठाइएको थियो ।
पाण्डेका अनुसार झापाबाट बालेन निर्वाचन लड्ने चर्चा भइरहे पनि महोत्तरी क्षेत्र नम्बर ३ पनि बालेनको प्राथमिकतामा रहेको कुरा उनले छलफलका क्रममा बताएका थिए ।
यसैबीच, माघ ५ गते महोत्तरीको पिपरामा राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय उद्घाटन हुने र उक्त कार्यक्रममा बालेन साह तथा रास्वपा सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रम तय भएको पाण्डेले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

