सप्तरी, १ माघ । सप्तरीको राजविराज नगरपालिकामा बेवारिसे अवस्थामा फेला परेका एक वृद्ध पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

राजविराज नगरपालिका–६ लिल्जा टोलको भित्री सडक खण्डमा पुष २५ गते कठ्याङ्ग्रिएको अवस्थामा फेला परेका करिब ६० वर्षीय पुरुषलाई प्रहरीले उद्धार गरी गजेन्द्र नारायण सिंह अस्पताल, राजविराजमा उपचारका लागि भर्ना गराएको थियो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीका अनुसार अस्पतालमा उपचाररत ती पुरुषको मृत्यु भएको हो । मृतकको नाम, ठेगाना तथा पहिचान खुल्न नसकेको जनाउँदै प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै पहिचान खुलाउने प्रयास तथा घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरीका अनुसार मृतकको पहिचान खुलेपछि परिवारजनलाई जानकारी गराइने छ भने हाल शव अस्पतालमै राखिएको छ ।