सिरहा, १ माघ । लायन्स क्लब अफ इन्टरनेशनलले सिरहाको लहान नगरपालिकाका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत करिब पाँच सय विपन्न बालबालिकालाई जाडो छल्नका लागि स्वीटर वितरण गरेको छ ।

लायन्स क्लब अफ फूलवारी र लायन्स क्लब अफ सिटी लहानको संयुक्त आयोजनामा लहान नगरपालिका–५ स्थित श्री नवकाली आधारभूत विद्यालय, वडा नं. १६ स्थित श्री जनता आधारभूत विद्यालय दौलतपुर तथा वडा नं. १० स्थित श्री जनता माध्यमिक विद्यालय बैरिया गुदीगाउँका विद्यार्थीलाई स्वीटर वितरण गरिएको हो ।

शीतलहरका कारण नियमित विद्यालय आउन कठिनाइ भोगिरहेका विपन्न बस्तीका बालबालिकालाई लक्षित गरी सहयोग कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा लायन्स क्लब अफ इन्टरनेशनलका पास्ट गभर्नर तथा सामाजिक अभियन्ता मुरारीलाल मुरारकाले विद्यार्थीलाई स्वीटर वितरण गर्दै लहानमा ब्लड बैंक स्थापना गरिने घोषणा गरे । उनले शिक्षा र स्वास्थ्य क्षेत्रमा लायन्स क्लब तथा शारडा–मुरारका परिवारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे ।

जनता माध्यमिक विद्यालय, बैरिया गुदीगाउँमा आयोजित कार्यक्रममा बालविकासदेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीलाई स्वीटर वितरण गरिएको थियो । सोही अवसरमा मुरारकाले दुई जना दलित तथा विपन्न विद्यार्थीको उच्च शिक्षाका लागि आवश्यक सम्पूर्ण खर्च व्यहोर्ने घोषणा गरे । सुकुम्बासी दलित बस्तीमा रहेको विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि प्रत्येक वर्ष सहयोग गर्दै आएको उनले उल्लेख गरे ।

लहान नगरपालिकाको १७औँ नगरसभाबाट योगदानको कदर गर्दै सम्मानित भइसकेका मुरारीलाल मुरारकालाई स्वीटर वितरण कार्यक्रममा विद्यालयले दोसल्ला ओढाएर सम्मान गरेको विद्यालयका प्रधानाध्यापक रङ्गलाल साहले जानकारी दिए । उनका अनुसार निरन्तर सहयोगले विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधार विकासमा उल्लेखनीय सहयोग पुगेको छ ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष उमेश कुमार विसुन्केले गर्मीमा पंखा र जाडोमा स्वीटर वितरणजस्ता सहयोगले विद्यार्थी तथा विद्यालय परिवार उत्साहित भएको बताउँदै आगामी दिनमा भवन निर्माणलगायत भौतिक विकासका कार्यमा थप सहयोगको विश्वास व्यक्त गरे ।