जसपा नेपालले पुष १४ गते जनकपुरधाममा बृहत विरोध प्रदर्शन गर्ने

जनकपुरधाम, ९ पुष । जनता समाजवादी पार्टी (जसपा) नेपालले पुष १४ गते जनकपुरधाममा बृहत विरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।
पार्टीको पूर्वनिर्धारित चरणबद्ध आन्दोलनको रुपमा २८ बुँदे माग राख्दै सुरु गरिएको आन्दोलनलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न समितिहरु गठन गरिएको हो ।
पार्टीका केन्द्रिय महासचिव रामकुमार शर्माको अध्यक्षतामा मधेश प्रदेशको पार्टी कार्यालय जनकपुरधाममा सम्पन्न बैठकले विरोध प्रदर्शनलाई व्यवस्थित बनाउन कदम चाल्ने निर्णय गरेको हो । बैठकले प्रदर्शनको मुख्य स्थल तिरहुतिया गाछी तोकेको छ ।
बैठकले प्रदर्शन व्यवस्थापनको लागि पाँचवटा प्रमुख समिति गठन गरेको छ । जनपरिचालन समिति, मंच व्यवस्थापन तथा प्रचारप्रसार समिति, आर्थिक व्यवस्थापन समिति, युवा परिचालन समिति र अनुगमन तथा मूल्यांकन समिति गठन गरिएको हो ।
जनपरिचालन समितिको अध्यक्षमा केन्द्रिय उपमहासचिव दिपक कार्की रहेका छन् । यस समितिमा सप्तरीदेखि सर्लाहीसम्मका पाँचवटा जिल्लाका केन्द्रिय सदस्य र जिल्ला अध्यक्षहरुलाई समावेश गरिएको छ ।
मंच व्यवस्थापन तथा प्रचारप्रसार समितिको नेतृत्व जीतेन्द्र कुमार यादवले गर्नेछन् । यस समितिका सदस्यहरुमा ज्ञानेन्द्र कुमार यादव, पशुपति यादव, चमेली देवी दास, श्यामकुमार यादव, दिपेन्द्र कुमार कापडी र बलिराम कापडी रहेका छन् ।
आर्थिक व्यवस्थापन समितिको अध्यक्षमा केन्द्रिय कोषाध्यक्ष सुरिता कुमारी साह नियुक्त भएकी छन् । समितिका सदस्यहरुमा डा. सुरेन्द्र यादव, प्रदेश कोषाध्यक्ष विष्णु कुमार साह, राजकुमार गुप्ता र डा. बबि सिंह रहेका छन् ।
युवा परिचालन समितिको नेतृत्व विदेश्वर यादव (विक्की)ले गर्नेछन् । यस समितिमा पाँचवटै जिल्लाका युवा र विद्यार्थी संगठनका अध्यक्षहरु सदस्यको रूपमा समावेश छन् ।
अनुगमन तथा मूल्यांकन समितिको अध्यक्षमा हरिनारायण यादव रहेका छन् । समितिका सदस्यहरुमा लाल किशोर साह र नागेन्द्र यादव रहेका छन् । प्रचारप्रसार समितिको संयोजकको जिम्मेवारी जीतेन्द्र यादवले सम्हाल्नेछन् ।
जसपा नेपालले जनकपुरधाममा हुने विरोध प्रदर्शनलाई प्रभावकारी, अनुशासित र सर्वसुलभ बनाउन यी समितिहरु गठन गरिएको र स्थानीय तहदेखि मधेश प्रदेशसम्म सबैलाई सहभागी गराउने लक्ष्य राखिएको पार्टी स्रोतले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

