हंसपुर नगरपालिका भ्रष्टाचार मुद्दा: १० जनाविरुद्ध प्रमाण बुझ्ने आदेश, ५२ लाख बढी हिनामिनाको आरोप

जनकपुरधाम, ९ पुष । धनुषाको हंसपुर नगरपालिकामा तत्कालीन उपप्रमुख रेणुदेवी झा लगायत १० जना व्यक्तिहरूविरुद्ध भ्रष्टाचारको मुद्दामा विशेष अदालतले बुधबार प्रमाण बुझ्ने आदेश जारी गरेको छ ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निवेदनमाथि सुनुवाइ गर्दै प्रतिवादीहरूबाट प्रमाण संकलन गर्ने निर्देशन दिएको हो ।
अख्तियारले अनुसन्धानमा देखाएको विवरण अनुसार हंसपुर नगरपालिकाको ५२ लाख ७२ हजार १६८ रुपैयाँ बढी रकम हिनामिना गरिएको ठहर छ ।
यस आरोपमा तत्कालीन उपप्रमुख रेणुदेवी झा, प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी, निमित्त प्रशासकीय अधिकृत रामलोचन मण्डल, इन्जिनियर, लेखापाल, खरिदार र निर्माण व्यवसायी देव कन्स्ट्रक्सनसमेत ९ जनालाई प्रतिवादी बनाइएको छ ।
अख्तियारको विवरणअनुसार तत्कालीन प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीमाथि ४४ लाख ९० हजार रुपैयाँ, निमित्त प्रशासकीय अधिकृत रामलोचन मण्डलमाथि ७ लाख ८१ हजार रुपैयाँको बिगो दाबी गरिएको छ ।
त्यस्तै, इन्जिनियर दिनेश कुमार मण्डलमाथि ३६ लाख २२ हजार, खरिदार शत्रुधन साहमाथि २८ लाख ४० हजार, लेखापाल नेत्र लुंगेलीमाथि ५२ लाख ७२ हजार र सव–इन्जिनियर विनोद कुमार मण्डलमाथि ७ लाख ८१ हजार रुपैयाँको बिगो दाबी गरिएको छ ।
मुद्दा परेको योजनामा हंसपुर नगरपालिका–५ सुगा निकासदेखि कट्टीसम्मको पीसीसी ढलान कार्य समावेश छ । अख्तियारको अनुसन्धान अनुसार कार्यअनुसार टुक्राटुक्रा रकम भुक्तानी हुनु, गलत नापजाँचका आधारमा बढी रकम निकासा हुनु, समयावधि सकिँदासमेत कानुनी प्रक्रिया नअपनाई समय थप गर्नु, कार्यसम्पादन जमानत नलिई सम्झौता अन्त्य हुनुजस्ता गम्भीर अनियमितता देखिएका छन् ।
अख्तियारले यस मुद्दामा भ्रष्टाचार र आर्थिक हिनामिनालाई ठोस प्रमाणसहित उजागर गर्दै दोषी ठहर गरिएका व्यक्तिहरूबाट रकम फिर्ता गराउने उद्देश्य राखेको छ । अदालतले अब प्रतिवादीहरूका पक्ष र प्रमाण संकलन प्रक्रियालाई अगाडि बढाउँदै न्यायिक प्रक्रिया सुरु गर्ने तयारी गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर

