पर्सा, २६ असोज । पर्सा र बारामा हैजाको प्रकोप नियन्त्रणका लागि सरकारले आइतबारदेखि व्यापक खोप अभियान सुरु गरेको छ ।

वीरगंज महानगरपालिकामा डेढ महिनाअघि देखिएको हैजा र झाडापखालाको महामारी अझै पूर्ण रूपमा नियन्त्रणमा नआएकाले स्वास्थ्य मन्त्रालयले दुई जिल्लामा सँगसँगै खोप अभियान सञ्चालन गर्न थालेको हो ।

भदौ ६ गतेदेखि वीरगंज महानगरपालिकासहित पर्साका विभिन्न क्षेत्रमा हैजा र झाडापखालाका बिरामी तीव्र रूपमा बढेका थिए । त्यसयता अस्पतालमा दैनिक बिरामी आउने क्रम नरोकिएपछि मन्त्रालयले आकस्मिक खोप अभियान सञ्चालनको निर्णय गरेको हो । अभियानका लागि सरकारले विदेशबाट १० लाख १८ हजार १ सय मात्रा ‘इयूभिकोल–एस’ नामक खोप नेपाल ल्याएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय पर्सामा आयोजित औपचारिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले स्वास्थ्यकर्मीको हातबाट खोप लगाएर अभियानको शुभारम्भ गरे । उनले खोप लिन योग्य सबै उमेर समूहका नागरिकलाई खोप सेवन गरी आफू र परिवारलाई सुरक्षित राख्न आग्रह गरे ।

स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार असोज २६ देखि कात्तिक २ गतेसम्म चल्ने अभियानमा पर्साका करिब ६ लाख ५४ हजार जनालाई खोप लगाइनेछ । खोप १ वर्षमाथिका सबैलाई दिइनेछ ।

अभियानलाई प्रभावकारी बनाउन पर्साका १४ स्थानीय तहमा १ हजार ९ सय ५० खोप केन्द्र स्थापना गरिएको छ । यी केन्द्रहरू विद्यालय, अस्पताल, कार्यालय, मन्दिर, मस्जिद, चर्च, गुम्बा, उद्योग–कलकारखाना र नेपाल–भारत सीमा नाकासम्म फैलिएका छन् ।

खोप वितरणका लागि १ हजार ५ सय ४४ जना महिला स्वास्थ्य स्वयंसेविका र ३ सय ५० जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । ठाकुरले भने, ‘यो अभियानले हैजाको प्रकोप नियन्त्रण र थप फैलावट रोक्न निर्णायक भूमिका खेल्नेछ ।’

भदौ ६ गते पहिलोपटक वीरगंजमा तीन जनामा हैजा पुष्टि भएको थियो । त्यसपछि असोज २१ गतेसम्म पर्सामा २ सय ४५ जनामा हैजा संक्रमण देखिएको थियो । सबै संक्रमित उपचारपछि निको भएका छन् । तर, संक्रमणको स्रोत भने अझै पत्ता लागेको छैन । हैजाका कारण अहिलेसम्म कसैको मृत्यु भएको छैन ।

खोप अभियानको शुभारम्भ कार्यक्रममा स्वास्थ्य मन्त्रालयका बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतम, नेपाल चिकित्सक संघ नारायणी शाखाका अध्यक्ष डा. मनोज कुमार गुप्ता, पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठक, सशस्त्र प्रहरी बल १३ गणका प्रमुख पूर्णचन्द्र भट्ट, सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्की र प्रहरी नायब उपरीक्षक किशोर लम्साललगायत उपस्थित थिए ।

डा. गुप्ताले खोप सुरक्षित भएको र कुनै साइड इफेक्ट नदेखिने भएकाले निर्धक्क भएर खोप लिन सबैलाई आग्रह गरे । उनले भने, ‘यो खोप १ वर्षमाथिका सबैका लागि सुरक्षित छ । यसले हैजाबाट दीर्घकालीन सुरक्षा प्रदान गर्छ ।’

स्वास्थ्य मन्त्रालयका डा. अभियान गौतमले भने, ‘हामी तिहारअघि नै पर्सा र बाराका सबै लक्षित स्थानीय तहमा खोप अभियान पूरा गर्ने लक्ष्यका साथ अघि बढेका छौं ।’ उनका अनुसार वीरगंज महानगरसहित पर्साका ६ स्थानीय तहमा आइतबारबाट खोप सुरु भइसकेको र सोमबारदेखि बाँकी पालिकामा अभियान विस्तार गरिनेछ ।

त्यस्तै, बारामा असोज २९ गतेदेखि खोप अभियान सुरु हुनेछ । बाराका १६ पालिकामध्ये कलैया, जीतपुरसिमरा, परवानीपुर, प्रसौनी, फेटा र विश्रामपुरलाई उच्च जोखिम क्षेत्र मान्दै अभियान केन्द्रित गरिने तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हैजा फैलिन थालेपछि अन्तर्राष्ट्रिय समन्वय समूह (आइसिजी) सँग खोप माग गरेको थियो । परिवार कल्याण महाशाखाको नेतृत्वमा विश्व स्वास्थ्य संगठन र युनिसेफको प्राविधिक सहयोगमा यो खोप अभियान सञ्चालन भइरहेको छ ।

हैजा नियन्त्रणका लागि यसअघि स्वास्थ्यकर्मीहरूले सरसफाइ, सुरक्षित खानेपानी र सचेतना कार्यक्रम सञ्चालन गरेका थिए । तर, संक्रमणको जोखिम अझै कायम रहेको जनाउँदै विशेषज्ञहरूले खोपलाई दीर्घकालीन समाधानको माध्यमका रूपमा लिएका छन् ।

स्थानीय तहहरूले पनि खोप केन्द्रहरूमा सहज पहुँच सुनिश्चित गर्न स्वयंसेविका र युवा समूहहरू परिचालन गरेका छन् । वीरगंज महानगरका मेयर राजेशमान सिंहले भने, ‘यो अभियान वीरगंज र आसपासका बासिन्दाका लागि अत्यन्तै जरुरी कदम हो । सबैले सक्रिय सहभागिता जनाए मात्रै महामारीलाई पूर्ण रूपमा नियन्त्रण गर्न सकिन्छ ।’