जनकपुरधाम, २५ असोज । जनकपुरधामका युवायुवतीहरूले आफ्नो सांस्कृतिक पहिरनको संरक्षण र प्रचारका लागि शनिबार विशेष अभियान सुरु गरेका छन् ।

उनीहरूले धोती, कुर्ता र सारी लगाएर मिथिलाको मौलिक पहिरनलाई जगेर्ना गर्ने उद्देश्य राख्दै जनकपुरधामको ऐतिहासिक गंगासागर पोखरीबाट जानकी मन्दिर प्राङ्गणसम्म पैदल मार्च गरेका हुन् ।

अभियानमा सहभागी संजय कुशवाहाले बताए अनुसार मिथिलाको मुख्य पोशाकले सांस्कृतिक पहिचान झल्काउँछ । आधुनिक युगमा ब्राण्डेड डिजाइन र विदेशी पहिरनले देखावटी बढाएको कारण मिथिलाको सारी लगाउने परम्परा ओझेलमा परेको छ । त्यसैलाई रोक्ने र आफ्नो पहिचान जगेर्ना गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो ।

त्यस्तै, अभियानमा सहभागी कुमकुम चौधरीले भनिन्, ‘मिथिलाको नारीको सांस्कृतिक पहिचान सारी मात्र हो । हामीले आफ्नै पहिचान बचाउन यो सन्देश दिन लागि सारी लगाएका हौं ।’

सांस्कृतिक पहिरन जोगाउने र प्रवद्र्धन गर्ने विषयमा उनीहरूले आगामी दिनमा के गर्न सकिन्छ भन्ने बारे विचार विमर्श तथा छलफल समेत गरेका थिए ।

युवायुवतीहरूले भविष्यमा यस अभियानलाई निरन्तरता दिँदै विद्यालय, क्याम्पस र सार्वजनिक कार्यक्रममा सांस्कृतिक पहिरन प्रदर्शन गर्ने योजना बनाउने बताएका छन् ।

जनकपुरधाममा यस्तो अभियान सुरु हुनुले स्थानीय सांस्कृतिक जागरूकता बढाउने र मिथिला पहिरनको संरक्षणमा युवापुस्ताको सक्रिय भूमिका सुनिश्चित गर्ने विश्वास लिइएको छ ।

स्थानीय सामाजिक कार्यकर्ता रामकृष्ण झा भन्छन्, ‘युवाहरूले आफ्नो पहिचान र संस्कृति जगेर्ना गर्न थालेको यो अभियानले अन्य युवाहरूलाई पनि प्रेरित गर्नेछ । यसले मिथिलाको पहिरन र सांस्कृतिक धरोहरलाई नयाँ जीवन दिनेछ ।’

अभियानमा सहभागी सबैले आफ्नो सांस्कृतिक पहिरनलाई गर्वका साथ प्रदर्शन गर्दै जनकपुरधाममा मौलिक पहिरनको पुनरुत्थानको संकेत दिएको जनाइएको छ ।