जनकपुरधाम, २५ असोज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आफूविरुद्ध नयाँ सरकार गठनको दाबी गरिएकोप्रति आपत्ति जनाएका छन् । उनले यस्तो प्रयासलाई संविधान र संघीयताको आत्मामाथिको प्रहार भन्दै यसको विरोध गरेका छन् ।

मुख्यमन्त्री सिंहले भने, ‘संविधानले मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिने अधिकार दिएको छ । त्यो अवधि नटुंगिँदै नयाँ सरकार गठनको कुरा उठाउनु नै प्रक्रियागत रूपमा गलत र गैरसंवैधानिक हो ।’

मुख्यमन्त्री सिंहले नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीका केही नेताहरूले प्रदेश प्रमुखमा पुगेको दाबीलाई राजनीतिक हतारो र असंवैधानिक गतिविधि भनेका छन् । उनले भने, ‘सङ्घीयतामाथि नै प्रहार हुने गरी मेरो पार्टीसहितका तीन दलले कदम चालेका छन् । यस्तो हतारो राजनीतिक परिपक्वता नभई सत्ता मोहको चरम उदाहरण हो ।’

उनले आफू गणतन्त्र र संघीयताको स्थापनाका लागि आन्दोलनमा होमिएको व्यक्ति भएको स्मरण गर्दै भने, ‘सङ्घीयता खारेज गर्ने सोच मेरो सपनामा पनि छैन । अहिले भइरहेका गतिविधि केही नेताहरूले आफ्नो गल्ती र असफलता ढाकछोप गर्न रचेको षड्यन्त्र हो ।’

मुख्यमन्त्री सिंहले थपे, ‘मैले राजीनामा दिएपछि मात्र प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्न सक्नुहुन्छ । त्यसअघि कसैलाई बहुमतको आधारमा सरकार गठन गर्न बोलाउने कुरा संविधानविपरीत हुन्छ ।’

संविधानले मुख्यमन्त्रीलाई ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था गरे पनि सिंहले असोज २८ गतेकै बैठकमा उक्त प्रक्रिया पूरा गर्ने तयारी गरिरहेको जानकारी दिए । उनले भने, ‘जनताले दिएको जनाधार नै मेरो शक्ति हो । म जनताको विश्वासमा ठाडो उभिनेछु ।’

सिंहले असोज २८ गते बस्ने प्रदेश सभा बैठकमा विपक्षी दलहरूले गरेको राजनीतिक प्रपञ्च र षड्यन्त्रको सम्पूर्ण कच्चा चिट्ठा सार्वजनिक गर्ने चेतावनी पनि दिए । उनले हाल थप टिप्पणी नगर्ने बताए ।