जनकपुरधाम, २५ असोज । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले असोज २८ गते दिउँसो १ बजेका लागि प्रदेश सभाको बैठक बोलाएका छन् । उक्त बैठकमा मुख्यमन्त्री सतिश सिंहले विश्वासको मत लिने तयारी गरेका छन् ।

मधेश प्रदेश सभा सचिवालयका अनुसार सभामुख मण्डलको आह्वानमा बस्ने यो बैठक हालको राजनीतिक उथलपुथलबीच हुने भएकाले विशेष ध्यानाकर्षणको विषय बनेको छ ।

मुख्यमन्त्री सिंह हाल अल्पमतमा परेका छन् । उनले राजीनामा नदिए पनि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टीका सांसदहरूले वैकल्पिक सरकार गठनका लागि आवश्यक बहुमत जुटाइसकेका छन् । ती दलहरूले ५८ जना प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई नयाँ सरकार गठनका लागि पत्र बुझाइसकेका छन् । मधेश प्रदेशमा बहुमतका लागि ५४ जना सांसद आवश्यक छन् ।

मुख्यमन्त्री सिंह जनमत पार्टीबाट नै निर्वाचित भएर सत्तामा पुगेका थिए । तर, हालैको जेनजी आन्दोलनपछि जनमत पार्टीले उनलाई तत्काल राजीनामा दिन निर्देशन दिएको थियो । सो निर्देशनपछि उनले सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरे पनि पछि उक्त राजीनामालाई औपचारिक नबनाइदै उनले फेसबुकको राजीनामा संवैधानिक प्रक्रिया नभएकाले मान्य नहुने भन्दै आफू अझै मुख्यमन्त्री नै रहेको दाबी गरेका थिए ।

त्यसपछि जनमत पार्टीले सिंहलाई पार्टीबाट फिर्ता बोलाउने निर्णय गर्दै त्यसको लिखित जानकारी प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराएको थियो । सोपछि पार्टीभित्र देखिएको विभाजन अझ तीव्र बनेको छ ।

सिंहविरुद्ध अहिले कांग्रेस, एमाले र जनमतकै अर्को समूहले गठबन्धन बनाएर नयाँ सरकार गठनका लागि पहल थालेका छन् । यो गठबन्धनले वैकल्पिक बहुमतको दाबी पेश गरिसकेको छ ।

असोज २८ गतेको प्रदेश सभा बैठक मधेशको सत्ता समीकरण निर्धारण गर्ने निर्णायक मोड सावित हुनेछ । यदि मुख्यमन्त्री सिंहले विश्वासको मत पाउन असफल भए भने प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ ।

प्रदेश राजनीतिक वृत्तमा हाल सत्ता संक्रमण, दलभित्रको असन्तुष्टि र सम्भावित नयाँ गठबन्धनको गणितले व्यापक सरगर्मी ल्याएको छ ।