रौतहटमा शिक्षक नियुक्तिमा घुस, प्रधानाध्यापकसहित दुईजना अख्तियारको फन्दामा


रौतहट, २५ असोज । रौतहटको देवाही गोनाही नगरपालिका–९ स्थित जय किसान नमुना माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसाद साह घुस प्रकरणमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई शुक्रबार राति आफ्नै घरबाट नियन्त्रणमा लिएको हो ।
प्रधानाध्यापक साहमाथि विद्यालयमा हुने माध्यमिक तह (द्वितीय) विज्ञान विषयको शिक्षक नियुक्ति परीक्षामा पास गरिदिने नाममा साढे चार लाख रुपैयाँ घुस मागेको आरोप लागेको छ । अख्तियारका अनुसार प्रधानाध्यापक साहले रकम लिँदै गर्दा आफ्ना सहयोगी अरविन्द प्रकाश साहमार्फत रकम लिइरहेका थिए ।
वीरगंजका एक शिक्षकले उक्त परीक्षाका लागि आवेदन दिएको र उनीसँगै रकम मागिएको सूचनाको आधारमा अख्तियारले निगरानी राखेको थियो । सोही क्रममा वीरगंजस्थित राधेमाई स्वीट्स एण्ड भोजनालयबाट सहयोगी अरविन्द प्रकाश साहलाई रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।
त्यसपछि आयोगको टोलीले रौतहट पुगेर प्रधानाध्यापक सञ्जय प्रसाद साहलाई समेत नियन्त्रणमा लिएको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि शुक्रबार राति नै काठमाडौँ लगिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।
रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले पनि अख्तियारले प्रधानाध्यापक साहलाई पक्राउ गरी काठमाडौँ लगेको पुष्टि गरेका छन् । उनले भने, ‘शिक्षक नियुक्तिका क्रममा घुस लिएको भन्ने सूचना आएको छ । तर, ठ्याक्कै विवरण अनुसन्धानपछि मात्र सार्वजनिक हुनेछ ।’
स्थानीयवासीले भने विद्यालयका केही नियुक्ति प्रक्रियामा लामो समयदेखि अनियमितता हुने गरेको आरोप लगाउँदै अख्तियारको यो कदमलाई स्वागत गरेका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
