वडाध्यक्ष राइनलाई तत्काल पदमुक्त गर्न हिन्दू सम्राटको माग


जनकपुरधाम, २२ असोज । हिन्दू सम्राट नेपालले जनकपुरधाम उपमहानगरपालिका–२० का वडाध्यक्ष मोहम्मद मोती राइन ‘कबाड़ी’लाई तत्काल पदमुक्त गर्न माग गरेको छ ।
संगठनले वडाध्यक्ष राइनले उपमहानगरपालिकाद्वारा पठाइएका कर्मचारीमाथि हातपात गर्दै धार्मिक द्वन्द्व फैलाउने अभिप्रायले उत्तेजक र विवादास्पद अभिव्यक्ति दिएको आरोप लगाएको छ ।
प्रेस विज्ञप्तिमा देवपुरा रुपैठा वडा नं २० स्थित तेलिया पोखरीको सार्वजनिक जमिनमा मुस्लिम समुदायद्वारा अनाधिकृत रूपमा इस्लामिक संरचना निर्माण गरिएको र सो संरचना हटाउन उपमहानगरपालिकाले प्रक्रिया थालेपछि वडाध्यक्ष राइनले त्यसमा अवरोध पुर्याउँदै शान्तिपूर्ण कार्यसम्पादनमा खटिएका कर्मचारीमाथि कुटपिट गरेको जनाइएको छ ।
हिन्दू सम्राट नेपालका अनुसार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधिहरू, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, मुस्लिम तथा हिन्दू समुदायका व्यक्तिहरूको उपस्थितिमा सर्वपक्षीय निर्णय भएको भए पनि वडाध्यक्षले त्यस निर्णयको उलङ्घन गर्दै तनाव सिर्जना गरेका छन् ।
विज्ञप्तिमा राइनमाथि पटक–पटक हिन्दू पर्वहरूमा समाजमा उत्तेजना फैलाउने, दंगा सृजना गर्ने प्रयास गरेको आरोप लगाइएको छ । स्थानीय बासिन्दाले यसअघि पनि उनीमाथि यस्ता गतिविधिहरूमा संलग्न भएको आशंका व्यक्त गर्दै आएका थिए । हिन्दू सम्राट नेपालले भनेको छ, ‘जबसम्म मोती राइनजस्तो कट्टरपन्थी व्यक्ति पदमा रहन्छन्, तबसम्म रुपैठामा सामाजिक शान्ति कायम हुन सक्दैन ।’
संगठनले वडाध्यक्ष राइनलाई कुपात्र भन्दै यथाशीघ्र कानुनी दायरामा ल्याउन गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र जनकपुरधाम उपमहानगरपालिकासँग माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यदि यथासमयमा कानूनी कारवाही गरिएन भने यस व्यक्तिबाट पुनः उपद्रव, षड्यन्त्र र दंगा भड्काउने कार्य दोहोरिन सक्छ ।’
यस घटनाले स्थानीय प्रशासन र सुरक्षा संयन्त्रप्रति पनि प्रश्न उठाएको छ । सर्वपक्षीय निर्णयपछि पनि कानुन कार्यान्वयनमा बाधा उत्पन्न हुनु चिन्ताजनक विषय भएको विज्ञप्तिमा उल्लेख छ ।
हिन्दू सम्राट नेपालले यस घटनालाई अत्यन्त गम्भीर रूपमा लिँदै सार्वजनिक रूपमा दबाब सिर्जना गर्दै आएको छ । उनीहरूले वडाध्यक्षलाई जनप्रतिनिधिको मर्यादासँग मेल नखाने क्रियाकलापमा संलग्न भएको आरोप लगाउँदै भनेका छन्, ‘यो विषय केवल हिन्दू र मुस्लिम समुदायको द्वन्द्व मात्र नभई यो कानुन र शान्तिको प्रश्न हो ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
