धनुषामा एसईईमा १६ विद्यार्थीलाई ४.० जीपीए, मोनाष्टिक स्कूल अग्रपंक्तिमा


जनकपुरधाम, १४ असार । धनुषा जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा १६ जना विद्यार्थीले सर्वोत्कृष्ट ग्रेड ४.० जिपिए हासिल गर्न सफल भएका छन् । ती मध्ये सबैभन्दा धेरै विद्यार्थी मोनाष्टिक सेकेन्ड्री स्कूल जनकपुरधामका रहेका छन् । यस विद्यालयका ६ जना विद्यार्थीले ४ जिपिए ल्याएर विद्यालयको शैक्षिक गौरव बढाएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाइ धनुषाको विवरणअनुसार मोनाष्टिक सेकेन्ड्री स्कूलका अभिनाश यादव, अभिनव कर्ण, अमन महतो, धिरज पण्डित, प्रियम राज साह र प्रिन्स मोदीले ४.० जीपीए ल्याएका हुन् । शैक्षिक गुणस्तर, समयअनुसारको तयारी, नियमित अभ्यास र विद्यार्थी–शिक्षकको आपसी समझदारी यस सफलताको प्रमुख कारक मानिएको विद्यालयका निर्देशक डा. सोनु कुमारले बताए ।
उनले भने, ‘हामी नतिजामुखी शिक्षा मात्र नभई मूल्यमा आधारित गहिरो सिकाइ प्रणालीमा विश्वास गर्छौं । यिनै ६ जना विद्यार्थीहरूले हाम्रो मेहनतलाई प्रमाणित गरेका छन् ।’
यस विद्यालयका ४ जना विद्यार्थीले ३.९६ जीपीए, ४ जना विद्यार्थीले ३.९५ जीपीएसहित जम्मा २४ जना विद्यार्थीले ३.९० भन्दा माथिको जीपीए प्राप्त गरेका छन् । त्यस्तै, ए प्लस १०३ जना, ए ६१ जना, बी प्लस २१ जना र बी ३ जनाले ल्याएका छन् ।
४.० जिपिए ल्याउने अन्य विद्यार्थीहरूमा जनता मावि बनिनिया गोपालपुरका ओसिकाकुमारी यादव, रविराज पूर्वे र रामकृष्ण यादव रहेका छन् । त्यस्तै, सरस्वती मावि जनकपुरधामका सलोक लाभ कर्ण, तपसीबाबा मावि टिल्हीका कशिटिज राउत, सिद्धार्थ शिशु सदनका संतोषकुमार कापर, साउथ प्वाइन्ट इंग्लिस बोर्डिङ स्कूलका राहुल साह, जनक सेकेन्ड्री इंग्लिस स्कूलका हिमांशु झा, मिट स्कूलका हिमांशु महतो र इडुकेशन प्वाइन्ट एकेडेमीका रोहितकुमार यादव रहेका छन् ।
पछिल्ला वर्षहरूदेखि निरन्तर रुपमा एसईई तथा अन्य शैक्षिक परीक्षामा मोनाष्टिकले आफूलाई अग्रपंक्तिमा स्थापित गर्दै आएको छ । यस वर्ष पाँच विद्यार्थीबाट ४ जिपिए हासिल हुनु विद्यालयको प्रशासनिक मजबूती, शैक्षिक व्यवस्थापन र विद्यार्थीमैत्री वातावरणको प्रतिफल हो भन्ने ठहर गरिएको छ ।
मोनाष्टिकले विद्यार्थीको मात्रै नभई शिक्षकको नियमित क्षमता अभिवृद्धि, अभिभावकसँगको सहकार्य र प्रविधिमैत्री पठनपाठन विधिलाई समेत प्राथमिकतामा राखेको छ ।
शैक्षिक प्रतिस्पर्धा र गुणस्तर सुधारको दौडमा मोनाष्टिक सेकेन्ड्री स्कूलले फेरि एक पटक देखाएको यो उपलब्धिले जनकपुरधामलाई शैक्षिक नगरको रूपमा स्थापित गर्न थप बल प्रदान गर्ने देखिन्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर
