सर्लाही, ५ जेठ । सर्लाहीको लालबन्दी नगरपालिका–१७ अन्तर्गत रानिगञ्जस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ भने अन्य ८ जना यात्रु घाइते भएका छन् । दुर्घटना साँझ करिब ४ः४० बजे घटेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ना ६ ख ७२२७ नम्बरको यात्रुवाहक बस र विपरीत दिशाबाट आइरहेको ना १ ज २६४५ नम्बरको म्याजिक सवारी आपसमा ठोक्किँदा २२ वर्षीया सोना पन्तको ज्यान गएको हो । उनी सोही स्थानको स्थानीय बासिन्दा थिइन् ।

दुर्घटनापछि गम्भीर घाइते अवस्थामा रहेकी पन्तलाई तत्कालै नजिकैको मोडेल अस्पताल लालबन्दी पुर्याइएको थियो । तर, उपचारकै क्रममा ४ः५० बजे चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए ।

घटनामा म्याजिक र बसमा सवार ८ जना यात्रु घाइते भएका छन् । घाइतेहरूको टाउको, नाक, खुट्टा तथा कम्मरमा चोट लागेको छ र अवस्था मध्यम रहेको जनाइएको छ ।

घाइते हुनेहरूमा ईश्वरपुर–७ की ६५ वर्षीया शान्ति देवी राम, सागरनाथकी २२ वर्षीया अमिसा श्रेष्ठ, ५६ वर्षीया फुल कुमारी घलान, १८ वर्षीय अंकित महतो, ४५ वर्षीया बबिता श्रेष्ठ, १९ वर्षीय राजकिशोर साह, ५४ वर्षीय रबिनाथ महतो, २१ वर्षीय विजय तामाङ रहेका छन् ।

घटनापछि बस चालक घटनास्थलबाट फरार भएको र हालसम्म पक्राउ नपरेको प्रहरीले जनाएको छ । फरार चालकको पहिचान खुलेको र खोजी कार्य तीव्र रूपमा जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको नेतृत्वमा २७ जनाको टोली घटनास्थलमा खटिएको थियो । साथै, जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरबाट प्रहरी निरीक्षक रजोस घिमिरे नेतृत्वको ६ जनाको टोली र सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प हरिवनबाट निरीक्षक एकराज बुर्लाकोटीको नेतृत्वमा थप १३ जना सुरक्षाकर्मी घटनास्थलमा परिचालन गरिएको थियो ।

घटनास्थल राजमार्गको व्यस्त खण्डमा पर्न गएको भए पनि यातायात भने अवरुद्ध नभएको प्रहरीको भनाइ छ । दुर्घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाइएको छ ।

हाल मृतकको शव मोडेल अस्पताल लालबन्दीमा राखिएको र पारिवारिक सहमतिअनुसार पोष्टमार्टम प्रक्रिया अघि बढाइने तयारी भइरहेको छ ।