–ज्योति झा
जनकपुरधाम, ३१ जेठ । बढदो कलयुग अर्थात अर्थयुगमा मानव जीवनमा सबभन्दा बढी त्राहीमाम भनौं वा समस्याको मुख्य जड वातावरण हो । वातावरणले मानव जीवनमा मात्र नभई पशुपंक्षि, प्रकृती र समग्र पृथ्वीमाथि नै ठूलो प्रभाव पारेको छ । र, हामी मानवलाई हरेक दिन यससँग सामना भइरहेको हुन्छ । सामान्य भाषामा भन्ने हो भने वातावरण भनेको हावापानी, बोटविरुवा, जंगल र त्यहाँ बस्ने जीवजन्तु सबै मिलेर बनेको जीवनशैलीलाई नै बुझिन्छ । यो प्राकृतिक सम्पदा हो ।

हामीले एउटा कुरा बुझ्नै पर्छ कि वातावरण भनेको पृथ्वी हो । जबसम्म हामी यो बुझ्दैनौ वातावरण जोगाउन सक्दैनौं । वर्तमान समयमा पृथ्वीमा रहेका धेरै वनस्पति तथा जीवजन्तुहरु लोप भइसकेका छन् । र, अहिले पनि त्यो क्रम जारी नै छ । यसको प्रमुख कारण हो वातावरण विनाश हुनु । त्यसैले भनिन्छ वातावरण एक यस्तो प्रणालीको सम्बन्ध हो जुन प्राकृतिक र कृत्रिम तत्वहरूसँग जोडिएको छ ।

यो मानवद्वारा परिमार्जन गरिएको छ । जुन हामीले संरक्षण गर्नुपर्छ । यसको प्रर्वद्धन पनि हामी मानवले नै गर्नुपर्छ । किनभने मेरो बुझाईमा मानव जीवनको मुल्य मन्त्र नै वाताबरण हो । हरेक वर्ष हामी जुन ६ तारीखका दिन वातावरण दिवस मनाइरहेका छौं । यसपालि पनि मनायौं । तर, सामाजिक सञ्जाल र सञ्चारमाध्यममा वृक्षारोपण र सरसफाइ गरेको फोटो र न्युजको हेडलाइन बन्नलाई मात्र गरेको हो भने मैले महसुस गरेकी छु ।

यो कुनै पर्व त्योहार होईन कि एक वर्षमा एकपटक मनाउनु पर्ने हुन्छ । न त मनाउनु नै पर्ने वाध्यता छ । तर, हामीले यसलाई पर्व जस्तै मनाइरहेका छौं । ६ जुन आउने बित्तिकै हामि वातावरण दिवस मनाउने प्लानिङ्ग देखी बजेट खोज्न नगरपालिकादेखी प्रदेशसम्म प्रवेश खोज्छौं । पत्रकारलाई निम्तो दिन्छौं, जिल्लादेखी नगरपालिकासम्म चिठ्ठी पठाउछौं । किन त्यो त पक्कै भन्नुपर्दैन जस्तो लाग्छ ।

हाम्रो पुस्ताले जतिसम्म हामीलाई स्वच्छ हावा र वातावरण हस्तान्तरण गर्नुभयो सायदै हामीले हाम्रो आउने सन्ततिलाई त्यति पनि दिन सक्छौं । र, भोलिका दिनमा जन्म लिने हाम्रो सन्तति रोगी, कमजोर, श्वासको समस्या लिएर नै यो संसारमा आँखा खोल्नेछन । र, यस्तो अवस्थामा देशको विकास गर्नु सपना हुनेछ । पहिला स्वास्थ्य अनि विकास, पहिला वातावरण त्यसपछि घर र कार..!

वातावारण प्रदूषणको मुख्य कारण नै मानिस हो । दिन प्रतिदिन भइरहेको बन विनास, बढिरहेको शहरीकरण, उब्जनीका लागि प्रशस्त जग्गाको कमी ! हाम्रो पुर्खाको आयु पहिला १०० भन्दा माथि हुन्थ्यो, बाचुन्जेल निरोग जिवन बच्नुहुन्थ्यो तर, अहिले जन्म लिएको बच्चा जन्मदेखि नै कुनै नकुनै रोगको सिकार भइरहेको हुन्छ ।

अहिले त स्कुल भन्दा कम भीड अस्पतालमा पनि हुँदैन । हाम्रो औसत आयु अब अधिकतम ६० वर्ष हो । कारण हामी अर्गानिक खानपान देखी टाढा छौं । हामी विषादी र मिलावट खानपानमा बाँचिरहेका छौं । पहिला बर्दिबासदेखि वीरगञ्ज जाने बाटोभरि बोट बिरुवा हुन्थ्यो । तर, अहिलेको अवस्था सबैले हेरेकै र थाहा भएकै कुरा हो । मलाई अझ पनि सम्झना छ । जब म सानो थिए राजविराजदेखि जनकपुर आउँथे त्यो समय बाटोको छेउमा भएको बोटबिरुवा हेर्दाहेर्दै मेरो समय बित्थ्यो । बल्कि म कहिं जाँदा बाटोको छेउमा रुख हेर्दा मलाइ लाग्थ्यो कि म जनकपुर नै जाँदैछु कि ! र, म मेरी हजुरआमालाई भन्थे तपाईंले भन्नुभयो विराटनगर जाँदैछु अनि जनकपुर किन ?

तर, अब त्यही राजविराजदेखि जनकपुरको बाटोमा अब जाँदा घर, पसल बाहेक केही हेर्दिन । पृथ्वीभन्दा ठूलो केही छैन् । जब पृथ्वी नै हुँदैन अनि हामी मानव जीवनको के अस्तित्व ? हामी सपनामा पनि मानवबिना पृथ्वीको कल्पना गर्न सक्दैनौ । भूकम्प, बाढी, पहिरो, गर्मी, जाडो यो सबै वातावारणमाथी निर्भर छ ।

एकछिन सोच्नुस् त अहिले जस्तो गर्मी के हामीले विगत १० वर्षमा महशुस गरेका छौं ? पक्कै पनि होईन होला ! जबकि सुविधा पहिलाको तुलनामा अहिले बढी छ हामीसँग । बस गोजीमा पैसा हुनुपर्यो । पैसा छ भने बिजुली, पंखा, एसी, कुलर सब पाइन्छ । तर पनि हामी त्यो आत्मखुशी पाउन सक्दैनौं होला जुन प्रकृतिले दिएको हावामा आनन्द हुन्छ ।

अहिले त हामी घरबाट टाढा निस्कन डराउँछौ, लुको नामले काप्छौं । यती सुविधा हुँदा पनि घरमा आफुलाई कति थुन्न सकिन्छ, गाडीबाट कति र कुनकुन ठाँउ जान सकिन्छ ? यतैनै सुविधा हुन्थ्यो भनें आज गर्मीको डरले स्कूल बन्द गर्नुपर्ने अवस्था हुने थिएन । अहिले मानिस सुविधाको पछाडि सबैथोक बिर्सेर आफुलाई मानव कम र मेशिन बढि बनाएका छन् । जब समय बितिहाल्छ अनि बाँच्ने रहर पलाउँछ । हरेक मानिसको अहिलेको सपना राम्रो घर, कार, बाटो, बिजुली मात्रै देखिन्छ । यदि महिला छन् भने गहना र पुरुष छन भने बाइक । म यो भन्दिन कि सुविधा चाहिएन । तर, बदलामा आफैंलाई खतम पारेर त्यो सुविधाको के सुख ?

सुख शान्ति हुन् त बस मनको खेल हो । त्यही भएर बुद्ध राजकुमार भएर पनि जंगलमा शान्तिका साथ बाँचेर नाम बनाए । र, हामी कमिशन, पैसाको लोभमा परेर आफ्नो आउने सन्तति र आफ्नो जीवन अन्धकारमय बादलमा धकेल्दै गइरहेका छौं । वातावरण संरक्षणको नाममा विकास रोक्नुपर्छ भने होइन । तर, विकासको नाममा वातावरणीय विनाश भएको तर्फ ध्यान जान नसक्दा आज वायुमण्डलमा हरितगृह ग्यास उत्सर्जन बढेर पृथ्वीमा जलवायु परिवर्तनको असर देखिँदै गएको छ । भोलीको भविष्य बिर्सेर आजका लागी मात्रै सोचिरहेका छौं हामी । पहिला एउटै घरमा सात पुस्ता बस्थ्यो, उब्जनीका लागी प्रसस्त जमिन हुन्थ्यो । अब त जतिजना सन्तान हुन्छन् त्यतिवटा घर । आमाबुबा र सन्तानको पनि बेग्लै घर । त्यही भएर अब घर त हुन्छ तर हावापानी अन्नबालीमा कमि हुँदै गएको छ ।

पहिला मानिस साइकल चलाउँथे, स्वस्थ्य थिए । अब जीममा गएर साइकल चलाउने तर बाटोमा गाडी चलाउने । र, यसले वातावरणलाई कतिको प्रदूषित गरेको छ त्यो सबैले बुझेकै कुरा हो । पहिला गाउँ भनेको अपन्त्व त हुन्थ्यो तर, सुविधा थिएन । तर, अहिले गाउँ सहर हरेक ठाउँमा प्रायः बिजुली सडक पुगेको छ । एकठाउँबाट अर्को ठाउँ पुग्न समय लाग्दैन । तर, अब गाउँ सुनसान भएको छ । र, सहर भरिभराउ । यसले कति कष्टमय बनाएको छ हाम्रो दिनचर्या त्यो हामीले महशुस गरेकै छौं । यसले भविष्यमा अझ कति जटिल समस्या उत्पन्न गर्छ त्यसदेखि हामी बुझेर पनि अनभिज्ञ छौं ।

बाटो बनाउन बोटबिरुवा कटानी फडानी हुन्छ । त्यहाँ फेरि अर्को बोट लगाउन सकिन्छ । तर, त्यस कुरामाथि कसैको ध्यान छैन । हामीलाई मतलब छ भने हाम्रो वर्तमान सुविधादेखि मात्र । मलाई एउटा दृश्य याद आयो । पक्कै हजुरहरुले पनि सम्झनुहुन्छ होला । बर्दिबासदेखी लालबन्दी जाने बाटोमा सयौको संख्यामा बाँदरहरु हुन्छन् । र, ती सबै बाँदरहरु बाटोमै कुरेर बसेका हुन्छन् । बटुवाले फालेका सामान खान्छन् । जबकि बाँदर रुखमा बस्ने र फलफूल आफैंले टिपेर खाने जीव हो । तर, अहिले उनीहरु पनि मानवमाथि नै निर्भर भएर बसेका छन् । र, यसले गर्दा अकालमै मृत्यु हुन्छ । कोहि गाडीको तल आउँछ । त कसैको खुट्टा भाँच्छ । यसको कारण हो जङ्गल फडानी र फलफूलको बोटको कमी ।

एउटा कुरा मलाई अहिले सम्म बुझ्नमा आएको छैन । म टाढाको कुरा गर्दिन, म मेरो कर्मभूमि जनकपुरधामकै कुरा गर्छु । अहिले जनकपुरधाममा अभियन्ताहरु च्याउभन्दा बढि उम्रेका छन् । तर त्यसमा कतिको खाद्य, पानी र कहा कहाँको जमिनको उपयोग भएको र भइरहेको छ भन्ने कुरा आश्चर्यजनक लाग्न सक्छ । दुईदिन सरसफाई गर्दैनन् तर संस्था दर्ता गराइहाल्छन । किन गराउँछन् त्यो जगजाहिर नै छ । भन्नु पर्दैन सायद । समाजसेवा गर्नका लागि संस्था किन ? ५ मिनेटको सफाइ, आफुलाई अभियन्ताको ट्याग र त्यसपछि जतिसम्म फोहोरको नाउँमा लुट्न सकिन्छ त्यतिसम्मको लुट । अहिले त सबभन्दा सरल, सहज र आरामदायी काम भनेको यही हो लाग्छ मलाई । केही खास गर्नु पनि छैन बस फोहोरसँगै फोटो र सामाजिक सञ्जालमा त्यसलाई अपलोड गरी वाहवाही । न्युजको हेडलाइन बन्नबाहेक केही छैन ।

जुन हिसाबले अभियानी छन् । र, अभियानको कुरा चल्दै आएको छ । यतिमा त जनकपुरधाम स्वर्ग नै हुन्थ्यो । तर, सफाइको नाममा ढोंग, सरकारको ढुकुटी समाप्त र आफ्नो खल्ती भर्ने योजनाबाहेक केहि हेर्दिन म त ! समाजसेवा सबभन्दा उत्तम सेवा हो । तर, निस्वार्थ भावले भइदियो भने अति उत्तम । आफ्नो स्वार्थ पूरा गर्न नाटक गर्यो भने त्यो सेवा कम मेवा बढी हो । अभियानीभन्दा राम्री त सफाइ कर्मचारी, सडक सफा गर्नेले गरिरहेका छन् । उनीहरूको रोजगार पनि त्यही हो । र, काम पनि राम्रो गर्छन् । तर, उसलाई आजसम्म न कसैले सम्मानको दृष्टिले हेरेको छ । न उसको मेहनतको मूल्यांकन गरिएको छ । न त कुनै सम्मान उसले पाएको छ । थोरै पैसामा धेरै काम र त्यो पनि इमान्दारिपूर्वक ।

र, अभियानिहरू आज यो पोखरी, भोलि यो बाटो । तर, सफा कहीं छैन । किनभने एकठाउँ राम्रो गरेको छैन् अर्को ठाउँ पुगिहाल्छ । सोच्ने कुरा के छ भने जो फेरि दिनरात अभियान नै गर्छन् उसको घर परिवार कसरी चलेको छ ? कसले चलाएको छ ? आफ्नो ठाउँ, टोल, वडाको सफाइ नगर्नेहरु, आफ्नै घरको छेउछाउमा संसारभरका फोहोर फाल्नेहरु अभियानीको नाममा त यसरी कुदन्छन् कि कति न ठूलो समाजसेवी हुँ म । यो सरसफाइ हो या सरसफाइको नाउँमा रोटी सेकाई ?

झन अहिले त सिडयो, एसपी, डिएसपीलाई सुरक्षा व्यवस्था कसरी चुष्तदुस्त हुन्छ भन्नेबारे कुनै चासो छैन । रात्रिकालिन बजार सञ्चालन कसरी गर्ने त्यो थाहा छैन । दिउँसै चोक चौराहाबाट गाडी हराउँछ, त्यसको कसरी व्यवस्थापन गर्ने मतलब छैन । आज बारबिघा, भोली गंगासागर र पर्सी तिरहुतिया गाछी पुग्छन । तर, त्यहाँ जाँदा अवस्था जस्ताको त्यस्तै ! म त्यतिखेर एकदम आश्चर्यचकित हुन्छु जब अभियानीहरु मन्त्रालयसम्म पनि सरसफाइ गर्न पुग्छन् । त्यहाँ किन ? दुनियाभरको बजेट हिनामिना गर्न सक्नेले सरसफाइ गराउन सक्दैनन् ? नियम कानुन लगाउन सक्दैनन् ?

झन अहिले त गाउँपालिका, नगरपालिका र वडाहरुसम्म बजेट जान्छ । मेयरदेखि कार्यपालिका सदस्यसम्मले जनताको पैसा खान्छन् । उनीहरुको काम बसेर पैंसा खानलाई त पक्कै होइन होला । काम गर्नलाई नै हो सायद । उनीहरुले नै उपलब्ध बजेटमा सरसफाइ र वृक्षारोपण गरिदिँदा कति राम्रो हुन्थ्यो । आ–आफ्नो वडाको जिम्मा वडाध्यक्षले लिएर त्यहाँ फोहोर फाल्नेमाथि कारबाही,जरिवाना गरिदियो भने कस्तो हुन्छ ? र, यसले अभियानको नाममा चन्दा उठाउने र भ्रष्टाचारमा पक्कै केही नकेही कमी आउँथ्यो होला । र सबभन्दा ठूलो कुरा कि यसले वातावरण पनि प्रदूषित हुँदैन ।

मेरो ठाउँ मैले आफैं सफा गर्ने हो नि ? सबैले आफ्नो जिम्मेवारी आ–आफ्नो ठाउँबाट निर्वाह गरिदिँदा सफा, स्वच्छ र सुन्दर वातावरणको निर्माण हुन्छ कि ? आफ्नो जन्मदिन होस् वा विवाहोत्सव । हामी सबैले आ–आफ्नो ठाउँमा एउटा बोट लगाइदियौं भने हाम्रो घरको वरिपरि बोटबिरुवाको कमी नै हुँदैन । जुन वडा सबभन्दा बढि सफा र स्वच्छ छ, त्यसलाई सम्मान गरिदियो भने उनीहरुको हौसला अझ प्रवल हुन्थ्यो कि । हामीलाई किसानको आवश्यकता छ । कृषि क्षेत्रमा काम गर्नेको खाँचो छ । राम्रो चिकित्सक र शिक्षकको खाँचो छ । अभियानको नाममा सम्मान लिने र चन्दा उठाउने पक्कै चाहिएको छैन् ।

(लेखक नेपाल पत्रकार महासंघ मधेस प्रदेशका उपाध्यक्ष एवम् टुडेआवाज डटकमका सम्पादक हुन्)