एम्बुलेन्सबाट ५७४ किलो गाँजा बरामद
सुनसरी, ०२ कार्तिक । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लुकाएर ओसारपसार गरिँदै गरेको ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ ।
त्यस्तै, भारतीय नम्बर प्लेटको मोटरसाइकलबाट ब्राउनसुगर र प्रतिबन्धित औषधिका ट्याब्लेटसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि इटहरीबाट विराटनगरतर्फ जाने कोशी राजमार्गमा गाँजा बोकेको एम्बुलेन्स गुडिरहेको सूचना प्राप्त भएको थियो ।
सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबी र सीआरभी दुहबीको संयुक्त प्रहरी टोलीले खोजतलास गर्ने क्रममा दुहबी नगरपालिका–६ स्थित बूढी खोलाको किनारमा गाँजासहितको एम्बुलेन्स फेला पारेको हो ।
‘नेपाल–भारत सहयोग’ लेखिएको स्टिकर टाँसिएको ना.४ च ६०६३ नम्बरको एम्बुलेन्सबाट उक्त परिमाणको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । एम्बुलेन्सका चालक र गाँजा ओसारपसारमा संलग्न व्यक्ति भने फरार छन् ।
एम्बुलेन्स कुन संस्थाबाट सञ्चालित थियो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । सामान्य सवारीसाधनलाई एम्बुलेन्सको स्वरूप दिएर वा नक्कली नम्बर प्लेट प्रयोग गरेर प्रहरीलाई छल्ने प्रयास गरिएको हुन सक्ने आशंका गरिए पनि यसबारे पुष्टि हुन बाँकी छ ।
यसैगरी, सोमबार बिहान सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–२ निवासी अर्सद अन्सारीको घरमा पार्किङ गरिएको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्दा प्रहरीले ब्राउनसुगर र प्रतिबन्धित औषधिका ट्याब्लेट बरामद गरेको छ ।
प्रहरीका अनुसार बीआर ३८ एजे ७३१२ नम्बरको मोटरसाइकलबाट ३ ग्राम ६३० मिलिग्राम ब्राउनसुगर, ७२ ट्याब्लेट स्पाज्मो र ९० ट्याब्लेट नित्जासेसीन बरामद गरिएको हो । ती पदार्थ मोटरसाइकलमा लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रहेको आशंकामा अन्सारीलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरी, इनरुवाको हिरासतमा राखिएको छ ।
दुवै घटनामा संलग्न अन्य व्यक्तिको पहिचान तथा लागूऔषधको ओसारपसारमा संलग्न सञ्जालबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



