जनकपुरधाम, ०२ कार्तिक । मधेशको सामाजिक परिवेश, संस्कृति, पारिवारिक सम्बन्ध र बदलाको कथालाई समेटेर निर्माण गरिएको चलचित्र ‘प्रतिवैरम्’ चार भाषामा प्रदर्शन हुने भएको छ ।

चलचित्रको प्रचारप्रसारका लागि जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा निर्माण पक्षले नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा चलचित्र प्रदर्शन गर्ने तयारी भइरहेको जानकारी दिएको हो ।

निर्देशक रोशन दासको निर्देशनमा बनेको चलचित्र आगामी मंसिर ४ गतेदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने तयारीमा छ ।

मधेशको मौलिक कथा र सामाजिक यथार्थलाई फराकिलो दर्शकवर्गसम्म पुर्याउने उद्देश्यले चार भाषामा चलचित्र प्रदर्शन गर्न लागिएको निर्माण पक्षले जनाएको छ ।

पत्रकार सम्मेलनमा चलचित्रका निर्माता सत्यराज चौलागाईं, निर्माता हर्ष कुमार यादव, कार्यकारी निर्माता विक्की साह, निर्देशक रोशन दास, अभिनेता सम्राट दास, अभिनेता विरेन्द्र सिंह कुशवाहा तथा साउन्ड डिजाइनर दीपेन्द्र साहलगायतको उपस्थिति थियो ।

कार्यक्रममा सहभागी चलचित्रकर्मीले चलचित्रको कथावस्तु, निर्माण प्रक्रिया र प्रचारप्रसारका विषयमा जानकारी गराए ।

चलचित्रले मधेशको सामाजिक जीवन, सांस्कृतिक पहिचान, पारिवारिक सम्बन्ध तथा अपराध र बदलाको विषयलाई कथामार्फत प्रस्तुत गर्ने निर्माण पक्षको भनाइ छ ।

स्थानीय परिवेश र मौलिक कथामा आधारित चलचित्र निर्माण गरे पनि अपेक्षाअनुसार मधेशमै प्रचारप्रसार र समर्थन नपाएको निर्माण पक्षले गुनासो गरेको थियो । चलचित्रलाई दर्शकमाझ स्थापित गर्न स्थानीय सञ्चारमाध्यम, पत्रकार तथा सरोकारवालाको सहयोग महत्त्वपूर्ण हुने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा चलचित्रको हालै सार्वजनिक मैथिली गीत ‘मिता रे’ बारे पनि चर्चा गरिएको थियो । दाजु बहिनीबीचको आत्मीयता, प्रेम र पारिवारिक भावनालाई समेटिएको गीतले मैथिली समाजको सांस्कृतिक तथा पारिवारिक सम्बन्धलाई उजागर गर्ने निर्माण पक्षले जनाएको छ ।

रेज इन्टरटेन्मेन्टको प्रस्तुति तथा विभिन्न निर्माण कम्पनीको सहकार्यमा करिव डेढ करोडको लागतमा बनेको चलचित्रको कथा निर्देशक दासले लेखेका हुन् भने पटकथा तथा संवाद युवराज भट्टराईले तयार पारेका छन् ।

चलचित्रमा सम्राट दास, विरेन्द्र सिंह कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, नारायण बिक, आशिष डिके र रमेश बुढाथोकीलगायतका कलाकारले अभिनय गरेका छन् ।

नेसनल सिनेमा ग्रुप नेपालले वितरण गर्ने चलचित्र ‘प्रतिवैरम्’ ले चार भाषामार्फत मधेशको कथा, संस्कृति र सामाजिक यथार्थलाई नेपाली दर्शकसँगै हिन्दी, मैथिली र भोजपुरी भाषी दर्शकमाझ पुर्याउने लक्ष्य राखेको छ ।

अब चलचित्रले स्थानीय परिवेशमा आधारित कथालाई व्यावसायिक सफलतामा रूपान्तरण गर्न कस्तो सफलता हासिल गर्छ भन्ने कुरा प्रदर्शनपछि स्पष्ट हुनेछ ।