कतारमा मधेशी समुदायको शुभकामना आदानप्रदान
–आशिक हुसैन शेख
दोहा, कतार, ०१ कार्तिक । वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका नेपालीहरूले धार्मिक सद्भाव, सामाजिक एकता र सांस्कृतिक सहिष्णुताको सन्देश दिँदै बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् ।
मधेश प्रदेश समन्वय परिषद् कतारको मुख्य आयोजना तथा मधेश प्रदेशका करिब दुई दर्जन सामाजिक संस्थाहरूको सहआयोजनामा कतारस्थित ग्रान्ड मलको लालीगुराँस रेस्टुरेन्टको सभाहलमा कार्यक्रम आयोजना गरिएको हो ।
विभिन्न धर्म, जातजाति, भाषा र संस्कृतिका नेपालीहरूको सहभागिता रहेको कार्यक्रमले प्रवासमा नेपालीबीच आपसी सद्भाव र एकताको महत्त्व दर्शाएको आयोजकले जनाएको छ ।
कार्यक्रममा वक्ताहरूले फरक धार्मिक आस्था र सांस्कृतिक पृष्ठभूमि भए पनि एकअर्काका चाडपर्व र परम्परालाई सम्मान गर्ने संस्कारलाई नेपाली समाजको विशेषताका रूपमा व्याख्या गरे ।
मधेश प्रदेश समन्वय परिषद्का अध्यक्ष कलाम हुसेन खान मुस्लिम समुदायका र महासचिव इसिलाल पण्डित हिन्दु समुदायका भए पनि दुवैको नेतृत्वमा साझा कार्यक्रम आयोजना हुनुले धार्मिक सहिष्णुताको उदाहरण प्रस्तुत गरेको उनीहरूको भनाइ थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् कतारका अध्यक्ष कृष्ण पन्थीले मधेश प्रदेश समन्वय परिषद्ले देखाएको आपसी सहकार्य र धार्मिक सहिष्णुता अनुकरणीय रहेको बताए । धर्म र विचार फरक भए पनि मानवता र राष्ट्रिय एकतालाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै उनले तराई, मधेश, पहाड र हिमालका नेपालीलाई समेटेर एनआरएनएलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कतारमा कार्यरत नेपाली श्रमिकका समस्या समाधानका लागि सामूहिक पहल आवश्यक रहेको बताउँदै पन्थीले श्रमिकको हकहित संरक्षणमा सामाजिक संस्थाहरूबीच सहकार्य हुनुपर्नेमा जोड दिए । उनले आगामी डिसेम्बर ११ र १२ मा आयोजना हुने मध्यपूर्व क्षेत्रीय सम्मेलनलाई श्रमिकका समस्या उठाउने र समाधानका लागि पहल गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा तराई तथा मधेशका मौलिक भाषा, कला र संस्कृतिमा आधारित विभिन्न सांगीतिक तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिएका थिए । कलाकारहरूको प्रस्तुतिले सहभागीलाई मनोरञ्जन प्रदान गर्नुका साथै प्रवासमा नेपाली मौलिक संस्कृति संरक्षण र प्रवर्द्धनको सन्देशसमेत दिएको थियो ।
सोही अवसरमा कतारमा क्रियाशील नेपाली पत्रकारहरूका साथै व्यक्तिगत भ्रमणका क्रममा नेपालबाट कतार पुगेका पत्रकारद्वय दिवस घिमिरे र अर्जुन भुसाललाई मायाको चिनोसहित सम्मान गरिएको थियो ।
कार्यक्रमको समापन गर्दै सभाध्यक्ष तथा परिषद्का अध्यक्ष कलाम हुसेन खानले करिब दुई दर्जन सामाजिक संस्थाको सहयोग र सहकार्यले कार्यक्रम सफल भएको बताए ।
मधेश प्रदेश समन्वय परिषद् सबै नेपालीको साझा संस्था भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि आपसी सद्भाव, सहकार्य र सामाजिक एकतालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
परिषद्का वरिष्ठ उपाध्यक्ष दुर्गानन्द पासवानको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन महासचिव इसिलाल पण्डितले गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



