प्रहरी समायोजनका लागि दशैँ, तिहारपछि सङ्घ सरकारलाई दबाब दिन्छौँ : मुख्यमन्त्री यादव
जनकपुरधाम, ३० असोज । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संविधानले प्रदेशलाई दिएको प्रहरीसम्बन्धी अधिकार कार्यान्वयनका लागि प्रहरी समायोजन प्रक्रिया शीघ्र अघि बढाउन सङ्घ सरकारलाई दबाब दिने बताएका छन् ।
नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा मधेश प्रदेश प्रहरी कार्यालयले शुक्रबार जनकपुरधाममा आयोजना गरेको विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले दशैँ, तिहार र छठ पर्वपछि प्रहरी समायोजनका लागि सङ्घ सरकारलाई थप दबाब दिने बताएका हुन् ।
हालै विराटनगरमा सम्पन्न मुख्यमन्त्रीहरूको सम्मेलनले संविधानले व्यवस्था गरेको प्रहरीसम्बन्धी अधिकार प्रदेशमा स्थापित गर्न शीघ्र प्रहरी समायोजन गर्नुपर्ने निष्कर्ष निकालेको उल्लेख गर्दै उनले प्रदेशको शान्ति सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन प्रहरी समायोजन आवश्यक रहेको बताए ।
मुख्यमन्त्री यादवले शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न, सडक सुरक्षा व्यवस्थापन गर्न तथा विपद्का समयमा उद्धार र राहतका काममा नेपाल प्रहरीले पुर्याउँदै आएको योगदान अतुलनीय रहेको उल्लेख गरे ।
नेपाल–भारत खुला सीमाका कारण हुन सक्ने सीमा अपराध, लागूऔषध ओसारपसार, अवैध हातहतियार तस्करी र मानव बेचबिखनजस्ता गतिविधि नियन्त्रणमा प्रहरीले थप सतर्कता अपनाउनुपर्ने उनको भनाइ थियो ।
बदलिँदो समयसँगै अपराधका स्वरूपसमेत परिवर्तन भइरहेकाले प्रहरीलाई प्रविधिमैत्री र समयसापेक्ष बनाउनु आवश्यक रहेको उनले बताए। प्रदेश सरकारले प्रहरीको मनोबल उच्च राख्न निरन्तर सहयोग गर्दै आएको पनि मुख्यमन्त्री यादवले उल्लेख गरे ।
कार्यक्रममा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले शान्ति सुव्यवस्था कायम गर्न र कानुनी शासनको प्रत्याभूति दिलाउन प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको बताए ।
प्रदेशमा शान्ति सुरक्षा सुदृढ बनाउन सरकारले प्रहरीका भौतिक पूर्वाधार निर्माण तथा स्रोतसाधन व्यवस्थापनका लागि वार्षिक रूपमा बजेट र सहयोग उपलब्ध गराउँदै आएको उनले जानकारी दिए ।
धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जनताको घरदैलोसम्म पहुँच रहेको नेपाल प्रहरीले मुलुकको शान्ति सुरक्षा कायम गर्न पुर्याएको योगदान सराहनीय रहेको बताए ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले सामाजिक सञ्जालको दुरुपयोग गरी सामाजिक सद्भाव बिगार्न खोज्ने गतिविधि नियन्त्रण गर्न प्रदेशभर ‘अपरेसन साइबर अपराध नियन्त्रण’ कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
प्रहरी दिवसका अवसरमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी तथा विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको छ । मधेश प्रदेशभर उत्कृष्ट कार्य गर्ने प्रहरी निरीक्षक विश्वम्भरनाथ साहलाई मुख्यमन्त्री यादवले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।
त्यस्तै, महिला हिंसाविरुद्ध सचेतनामूलक टिकटक भिडियो निर्माणमा प्रथम भएका सप्तरीका कलाकार जुगेश्वर यादव र विपद् व्यवस्थापनमा उत्कृष्ट कार्य गरेका रौतहटको मौलापुरमा कार्यरत प्रहरी निरीक्षक भरत केसीलाई नगद तथा सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
समारोहमा अमर प्रहरीका परिवारजन तथा ट्राफिक व्यवस्थापन र सामुदायिक प्रहरी सेवामा उल्लेखनीय योगदान पुर्याउने प्रहरी कर्मचारीलाई समेत कदरपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको शुरुवातमा मुख्यमन्त्री यादवले अमर प्रहरी स्मारकमा पुष्पगुच्छा अर्पण गरी कर्तव्यपालनका क्रममा ज्यान गुमाएका प्रहरीप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।
समारोहमा जनकपुरधाम उपमहानगरपालिकाका कार्यवाहक प्रमुख परमेश्वर साह, मधेश प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाललगायतले प्रहरीको भूमिका र शान्ति सुरक्षा व्यवस्थापनका विषयमा मन्तव्य व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



