जनकपुरधाम, ३० असोज । मधेश प्रदेश सरकारलाई दिएको समर्थन नेकपा एमालेले फिर्ता लिएको छ ।

प्रदेश प्रमुखको कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको पत्र प्राप्त भएको जनाएको हो ।

प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णसमक्ष एमालेले असोज ३० गतेदेखि लागू हुने गरी सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयसम्बन्धी पत्र पठाएको विज्ञप्तिमा उल्लेख छ ।

प्रदेश प्रमुखको कार्यालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा एमालेको समर्थन फिर्तासम्बन्धी पत्र प्राप्त भएको जानकारी गराइएको छ ।

यसअघि एमालेबाट मधेश प्रदेश सरकारमा सहभागी चार मन्त्रीले मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाएका थिए ।

राजीनामा दिनेमा श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास तत्मा, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंह रहेका छन् ।

एमालेले समर्थन फिर्ता लिएसँगै मधेश प्रदेशको सत्ता समीकरणमा नयाँ परिस्थिति सिर्जना भएको छ ।