मधेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
जनकपुरधाम, ३० असोज । नेकपा एमाले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।
एमालेबाट मधेश प्रदेश सरकारमा सहभागी चार मन्त्रीले आज मुख्यमन्त्री कृष्णप्रसाद यादवसमक्ष राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएका छन् ।
नेकपा एमालेका प्रमुख सचेतक हरिनारायण महतोले एमालेका मन्त्रीहरूले राजीनामा बुझाएको र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।
सरकारबाट बाहिरिने निर्णयसँगै एमालेका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास तत्मा, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समिर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले पदबाट राजीनामा दिएका छन् ।
मधेश प्रदेशमा नेपाली कांग्रेसका कृष्णप्रसाद यादव मुख्यमन्त्री छन् । वर्तमान सत्ता गठबन्धनमा नेपाली कांग्रेससँगै नेपाली कम्युनिस्ट पार्टीसमेत सहभागी छ ।
एमालेले सरकारबाट समर्थन फिर्ता लिएसँगै मधेश प्रदेशको सत्ता समीकरणमा फेरबदल हुने सम्भावना बढेको छ ।

नयाँ सरकार गठनको रणनीतिअन्तर्गत एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको देखिन्छ ।
एमालेको यो कदमले प्रदेशमा नयाँ राजनीतिक समीकरण निर्माण गर्ने र सरकार गठनका लागि दलहरूबीच पुनः छलफल तथा शक्ति बाँडफाँटको प्रक्रिया अघि बढ्ने सम्भावना छ ।
एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादव नेतृत्वको सरकारको राजनीतिक अवस्था र आगामी सत्ता समीकरण कस्तो बन्ने भन्ने विषय मधेश प्रदेशको राजनीतिमा चासोको विषय बनेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



