नवरात्रिमा देवीको पूजा, व्यवहारमा नारीको अपमान किन?
-ज्योति झा
जनकपुरधाम, २८ असोज । दशैँको रौनकले यतिबेला मधेशदेखि पहाडसम्म र छिमेकी देश भारतसम्म उत्सवको वातावरण सिर्जना गरेको छ ।
मिथिलाञ्चलमा भने नवरात्रिको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्त्व विशिष्ट छ । नौ दिनसम्म देवी दुर्गाका नौ स्वरूपको पूजाआराधना गरिन्छ । घरघरमा कलश स्थापना गरिन्छ । दुर्गासप्तशतीको पाठ गरिन्छ । व्रत उपवास बसिन्छ र शक्तिस्वरूपा देवीप्रति श्रद्धा प्रकट गरिन्छ ।
जनकपुरधामका राजदेवी, अन्नपूर्णा, बौधी, फुलेश्वरी, पिडरिया, दक्षिणकाली र सोनासतीलगायतका मन्दिरमा भक्तजनको भीड लाग्छ । सप्तरीको राजविराजस्थित भगवती मन्दिर, राजदेवी, छिन्नमस्ता (सखडेश्वरी) र भारदहको कंकालिनी मन्दिरमा पनि श्रद्धालुहरूको घुइँचो हुन्छ ।
छिमेकी देश भारतबाट समेत दर्शनार्थीहरू आउने गर्छन् । भजन, कीर्तन, जागरण र पूजापाठले मन्दिरदेखि बस्तीसम्म भक्तिमय वातावरण सिर्जना गर्छन् ।
कसैका लागि दशैँ रमाइलो, घुमफिर र मनोरञ्जनको अवसर हो भने कसैका लागि व्रत, उपवास, आत्मसंयम र साधनाको समय । आस्था र परम्पराका यी सबै रूपको आ–आफ्नै महत्त्व छ ।
तर, यही धार्मिक उत्सवको बीचमा एउटा गम्भीर प्रश्न उभिन्छ—जुन समाजले नौ दिनसम्म नारीलाई देवी मानेर पूजा गर्छ, त्यही समाजमा नारीमाथि हिंसा, बलात्कार र विभेद किन रोकिँदैन? कन्याको पूजा गर्ने समाजमा अबोध बालिका किन सुरक्षित छैनन्?
यो प्रश्न धर्म र आस्थाविरुद्ध नभई धार्मिक आस्था र सामाजिक व्यवहारबीच देखिएको विरोधाभासमाथि हो । मन्दिरमा देवीको महिमा गाउने समाजले आफ्नै घर, परिवार र समुदायका महिला तथा बालिकाको सम्मान र सुरक्षालाई कति प्राथमिकता दिएको छ भन्ने प्रश्न हो ।
नवरात्रिमा कन्यालाई देवीको प्रतीक मानेर पूजा गरिन्छ । उनीहरूलाई भोजन गराइन्छ, दक्षिणा दिइन्छ र सम्मान प्रकट गरिन्छ । तर, त्यही समाजमा बालिकामाथि हुने यौन हिंसा, दुर्व्यवहार र शोषणका समाचार सार्वजनिक भइरहन्छन् ।
कन्याको पूजा गर्नु धार्मिक आस्था हो । तर, बालिकाको सुरक्षा सुनिश्चित गर्नु मानवीय, सामाजिक र कानुनी दायित्व हो । यी दुई विषयलाई एउटै ठान्न मिल्दैन । पूजा गरेर मात्रै बालिकाको अधिकार सुरक्षित हुँदैन । त्यसका लागि जिम्मेवार व्यवहार, प्रभावकारी कानुनी संयन्त्र र सुरक्षित सामाजिक वातावरण आवश्यक हुन्छ ।
नौ दिनसम्म कन्यालाई देवी मानेर पूजा गर्ने समाजले दसौँ दिनदेखि उनलाई समान अधिकार भएकी व्यक्तिका रूपमा स्वीकार गर्न किन सक्दैन? मन्दिरमा नारी शक्तिको जयजयकार गर्ने आवाज घरभित्र महिलामाथि हुने अन्यायविरुद्ध किन कमजोर हुन्छ?
धार्मिक अनुष्ठानप्रति समर्पण देखाउने तर महिलाको श्रमको अवमूल्यन गर्ने, छोरीको स्वतन्त्रतामाथि नियन्त्रण गर्ने र पीडितमाथि नै दोष थोपर्ने प्रवृत्तिले हाम्रो सामाजिक चेतनामाथि प्रश्न उठाउँछ ।
नवरात्रिमा दुर्गाको पूजा गर्ने पुजारी, देवीको शक्तिको व्याख्या गर्ने धार्मिक अगुवा तथा नारी सम्मानको भाषण दिनेहरूमध्ये पुरुषहरूको पनि ठूलो उपस्थिति हुन्छ । यसमा आफैँमा कुनै विरोधाभास छैन ।
समस्या त्यतिबेला देखिन्छ, जब नारी शक्तिको प्रशंसा गर्ने समाजले व्यवहारमा महिलालाई समान अधिकार दिन हिचकिचाउँछ ।
यहाँ सबै पुरुषलाई दोषी ठहर्याउनु उद्देश्य होइन । प्रश्न त्यो पितृसत्तात्मक सोचमाथि हो, जसले पुरुषलाई अधिकारको स्वभाविक हकदार र महिलालाई आज्ञापालन गर्नुपर्ने व्यक्तिका रूपमा हेर्छ ।
घरमा आमाले दिनभरि काम गर्नु सामान्य मानिन्छ । तर, पुरुषले केही समय भान्सामा सघाउँदा प्रशंसा गरिन्छ । श्रीमतीले घरपरिवार र सन्तानको जिम्मेवारी वहन गर्नु कर्तव्य ठानिन्छ । तर, श्रीमानले घरको काममा हात बटाउँदा त्यसलाई विशेष उपलब्धि बनाइन्छ ।
नवरात्रिमा नौ दिन उपवास बस्न सक्ने व्यक्ति आफ्नै आमालाई आराम दिन, श्रीमतीको श्रम बाँड्न र छोरीको विचार सुन्न किन तयार हुँदैन?
धर्मले करुणा, अनुशासन, आत्मसंयम र सदाचार सिकाउँछ भने ती मूल्य घरको व्यवहारमा पनि देखिनुपर्छ । मन्दिरमा हात जोड्ने तर घरमा महिलालाई अपमान गर्ने प्रवृत्तिले धार्मिक आस्था र व्यवहारिक जीवनबीचको दूरी दर्शाउँछ ।
हाम्रो समाजमा छोरालाई वंश धान्ने र छोरीलाई अर्काको घर जाने व्यक्तिका रूपमा हेर्ने सोच अझै पूर्ण रूपमा समाप्त भएको छैन । कतिपय परिवारमा छोरी जन्मिँदा निराशा व्यक्त गरिन्छ । तर, त्यही छोरी शिक्षित, आत्मनिर्भर र सफल भएपछि परिवारको गौरवका रूपमा प्रस्तुत गरिन्छ ।
आमा सबैलाई चाहिन्छ । जीवनसाथी सबैलाई चाहिन्छ । छोरी पनि परिवार र समाजको समान अधिकार भएकी सदस्य हुन् । तर, छोरी जन्मिनुअघि नै उनलाई अस्वीकार गर्ने मानसिकता किन कायम छ?
आफ्नी छोरीका लागि सुरक्षित र सम्मानित समाज चाहने व्यक्तिले अरूकी छोरीका लागि पनि त्यही वातावरण निर्माण गर्न किन तयार हुँदैन? आफ्नी छोरीमाथि अन्याय हुँदा न्याय खोज्ने समाजले अरूकी छोरीमाथि भएको अन्यायमा पनि उत्तिकै संवेदनशीलता देखाउनुपर्दैन?
छोरी कसैको बोझ होइनन् । महिला कसैको सम्पत्ति होइनन् । बालिका कसैको मनोरञ्जनको साधन होइनन् । उनीहरू आफ्नै अस्तित्व, अधिकार र सम्मान भएका मानिस हुन् ।
हाम्रो समाजमा महिलालाई कहिले सीताको आदर्शमा बाँधिन्छ, कहिले दुर्गाको शक्तिका रूपमा चित्रण गरिन्छ । पौराणिक पात्रहरूको व्याख्या गर्दै महिलाको चरित्र, स्वतन्त्रता र व्यवहारमाथि टिप्पणी गर्ने प्रवृत्ति पनि देखिन्छ ।
म यो भन्दिनँ कि नारी सीता र दुर्गाका प्रतीकमा मात्र सीमित छिन् । हाम्रो सांस्कृतिक विमर्शमा सुपर्णखाजस्ता पात्र पनि छन्, जसलाई विभिन्न दृष्टिकोणबाट व्याख्या गरिन्छ ।
महिलाको पहिरन, हिँडडुल, समय, मित्रता वा व्यवहारमाथि प्रश्न उठाएर यौन हिंसाको औचित्य खोज्ने सोच गलत छ । कुनै पनि व्यक्तिको व्यक्तिगत व्यवहारले अर्को व्यक्तिलाई हिंसा गर्ने अधिकार दिँदैन ।
बालिकालाई आफ्नो सुरक्षा, व्यक्तिगत सीमाना र दुर्व्यवहारबारे बोल्न सिकाउनु आवश्यक छ । तर, बालसुरक्षाको सम्पूर्ण जिम्मेवारी बालिकाकै काँधमा राख्नु गलत हुन्छ । सुरक्षित वातावरण निर्माण गर्नु परिवार, समाज, विद्यालय र राज्यको साझा दायित्व हो ।
निर्मला, इनिशा, गरिमा, सम्झना र रिंकुकुमारीजस्ता धेरै नामले महिला तथा बालिकाको सुरक्षा र न्यायबारे गम्भीर प्रश्न उठाउँछन् । यी नामसँग जोडिएका घटनाको प्रकृति, तथ्य र न्यायिक अवस्था फरक हुन सक्छन् । तर, यी नामहरू सम्झँदा उठ्ने साझा प्रश्न महत्त्वपूर्ण छ ।
महिला तथा बालिकाले सुरक्षित भएर बाँच्न पाउने अधिकारको सुनिश्चितता कसले गर्ने? पीडित परिवारले न्याय खोज्दा राज्यले कस्तो साथ दिन्छ? अपराधको अनुसन्धान निष्पक्ष र प्रभावकारी बनाउन सम्बन्धित निकाय कति जवाफदेही छन्?
हरेक घटना सार्वजनिक भएपछि केही समय आक्रोश व्यक्त हुन्छ । सामाजिक सञ्जालमा बहस चल्छ, दोषीलाई कारबाही गर्न माग उठ्छ र न्यायको आवाज सुनिन्छ । तर, समय बित्दै जाँदा ती आवाज कमजोर हुन्छन् । फेरि अर्को घटना सार्वजनिक हुन्छ र समाज उस्तै प्रश्न दोहोर्याउन बाध्य हुन्छ ।
बालिकामाथिको यौन हिंसा एउटा परिवारको निजी पीडा मात्र नभई यो समाजको सुरक्षा, राज्यको जिम्मेवारी र न्याय प्रणालीको विश्वसनीयतासँग जोडिएको गम्भीर विषय हो ।
समाजमा बारम्बार उठ्ने अर्को गम्भीर प्रश्न हो—के पैसा, राजनीतिक पहुँच, पद वा शक्तिको प्रभावले अनुसन्धान र न्यायिक प्रक्रियालाई प्रभावित पार्न सक्छ? यदि कुनै घटनामा प्रभावशाली व्यक्तिको दबाबका कारण प्रमाण सङ्कलन कमजोर हुन्छ, अनुसन्धान प्रभावित हुन्छ वा पीडित परिवारले न्यायका लागि थप सङ्घर्ष गर्नुपर्छ भने त्यसले कानुनी शासनमाथिको जनविश्वास कमजोर बनाउँछ ।
यद्यपि, कुनै व्यक्तिमाथि आरोप लाग्दैमा दोष प्रमाणित भएको मान्न मिल्दैन । निष्पक्ष अनुसन्धान, प्रमाणको मूल्याङ्कन र न्यायिक प्रक्रियाको सम्मान अनिवार्य छ । तर, त्यही प्रक्रियालाई आर्थिक तथा राजनीतिक प्रभावबाट जोगाउनु पनि राज्यको दायित्व हो ।
कानुन सामान्य नागरिकका लागि एउटा र शक्तिशाली व्यक्तिका लागि अर्को हुनु हुँदैन । अपराध प्रमाणित भएमा दोषीलाई कानुनअनुसार सजाय हुनुपर्छ, चाहे ऊ जुनसुकै पद, पहुँच वा सामाजिक हैसियतमा किन नहोस् ।
न्यायको तराजुमा पैसा, पद र पहुँचको भार पर्नु हुँदैन । पीडितको आवाज कमजोर र प्रभावशालीको आवाज शक्तिशाली हुने अवस्था अन्त्य गर्नु नै कानुनी शासनको वास्तविक परीक्षा हो ।
नवरात्रि शक्ति, साहस र असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा मनाइन्छ । तर, यसको सन्देश मन्दिरको घण्टी, आरती र धार्मिक नारामा मात्रै सीमित भयो भने उत्सवको सामाजिक अर्थ अधुरो रहन्छ ।
दुर्गाको पूजा गर्ने समाजले महिलाको स्वतन्त्रतालाई सम्मान गर्न सिक्नुपर्छ । कन्याको पूजा गर्ने समाजले बालिकाको अधिकार रक्षा गर्नुपर्छ । धर्मको व्याख्या गर्नेहरूले अन्यायविरुद्ध पनि बोल्नुपर्छ । राज्यले निष्पक्ष अनुसन्धान, पीडितको सुरक्षा र न्याय सुनिश्चित गर्नुपर्छ ।
मन्दिरमा दुर्गाको जयजयकार गरेर बाहिर निस्किएपछि पनि महिलाको अपमान गर्ने, छोरीको अधिकार खोस्ने, पीडितलाई दोष दिने र शक्तिशालीलाई कानुनभन्दा माथि राख्ने सोच कायम रह्यो भने धार्मिक अनुष्ठानको सामाजिक सन्देश अधुरै रहन्छ ।
तसर्थ, नवरात्रिको वास्तविक विजय त्यतिबेला हुनेछ, जब मन्दिरमा दुर्गाको जयजयकारसँगै घरमा महिलाको सम्मान हुनेछ र समाजमा बालिकाको सुरक्षा सुनिश्चित हुनेछ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



