बारा, २५ असोज । बाराको अमलेखगञ्जमा पिकअप गाडीको ठक्करबाट वृद्धको मृत्यु भएपछि फरार भएका चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

चालक पक्राउ परेसँगै दोषीमाथि कारबाहीको माग गर्दै स्थानीयले अवरुद्ध गरेको पथलैया–हेटौँडा सडकखण्ड पुनः सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक बिमल खतिवडाका अनुसार पक्राउ पर्नेमा महोत्तरीको बर्दिबास नगरपालिका–१४ निवासी ३४ वर्षीय विजयकुमार साह सोनार रहेका छन् ।

सोनारलाई मकवानपुरको रातेमाटो चेकपोस्टबाट इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दयाकृष्ण भट्टको नेतृत्वमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

आइतबार बिहान पथलैयाबाट हेटौँडातर्फ जाँदै गरेको मधेश प्रदेशको प्र २–०३–००१ च १७७७ नम्बरको पिकअपले जीतपुरसिमरा उपमहानगरपालिका–२२ निवासी करिब ६७ वर्षीय रामबहादुर थिङलाई अमलेखगञ्जमा ठक्कर दिएको थियो । ठक्करबाट थिङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि चालक गाडीसहित फरार भएपछि आक्रोशित स्थानीयले चालकलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गर्दै सडक अवरुद्ध गरेका थिए ।

सडक अवरुद्ध हुँदा आइतबार बिहानैदेखि पथलैया–हेटौँडा सडकखण्ड भएर चल्ने सवारीसाधनको आवागमन प्रभावित भएको थियो ।

प्रहरीले फरार चालकलाई पक्राउ गरेपछि स्थानीयले अवरोध हटाएका हुन् । सडक पुनः सञ्चालनमा आएसँगै उक्त मार्ग भएर आवतजावत गर्ने यात्रु तथा सवारीसाधनलाई सहज भएको छ ।

मृतक थिङको शव पोस्टमार्टमलगायत आवश्यक कानुनी प्रक्रिया पूरा गर्न वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको छ ।

दुर्घटनाको कारण तथा घटनासँग सम्बन्धित अन्य विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।