रास्वपा प्रवेश गरेको १८ घण्टा नबित्दै सरावगीको सदस्यता खारेजीको माग
पर्सा, २३ असोज । नेकपा एमाले परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका वीरगञ्जका पूर्वमेयर विजयकुमार सरावगीको पार्टी सदस्यता खारेज गर्न माग गरिएको छ ।
रास्वपा पर्सा जिल्ला कार्यसमितिले सरावगीको सदस्यता खारेज गर्न माग गर्दै शुक्रबार पार्टीको केन्द्रीय कार्यालयलाई पत्र पठाएको हो ।
बिहीबार राति करिब १० बजे रास्वपा प्रवेश गरेका सरावगीको सदस्यता खारेजीको माग त्यसको १८ घण्टा नबित्दै गरिएको हो ।
रास्वपा पर्साका जिल्ला सचिव सुदिश प्रजापतिले पार्टीका केन्द्रीय महामन्त्रीलाई पत्र लेख्दै सरावगीको सदस्यताबारे जिल्ला कार्यसमितिलाई कुनै जानकारी नभएको उल्लेख गरेका छन् ।
पत्रमा सरावगीको नाममा पीआरएस १ ख ०००४३५७७६ नम्बरको सदस्यता जारी भएको उल्लेख गर्दै उक्त सदस्यताप्रति पर्साका पार्टीका अन्य सदस्य तथा नेताहरूको असहमति रहेको जनाइएको छ ।
जिल्ला कार्यसमितिसँग समन्वय नगरी सदस्यता जारी गरिएको भन्दै सचिव प्रजापतिले सरावगीको सदस्यता खारेज गरिदिन केन्द्रीय कार्यालयसँग अनुरोध गरेका छन् ।
एमालेका केन्द्रीय सदस्यसमेत रहेका सरावगी वीरगञ्ज महानगरपालिकाका पूर्वमेयर हुन् ।
उनले एमाले परित्याग गरी रास्वपा प्रवेश गरेलगत्तै आफ्नै नाममा जारी भएको पार्टी सदस्यताबारे जिल्ला कार्यसमितिबाट असहमति जनाउँदै खारेजीको माग अघि सारिएको हो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



