जनकपुरधाम, २० असोज । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाको १५औँ नगर अधिवेशन आगामी असोज २१ गते हुने भएको छ ।

अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले गर्ने कार्यक्रम तय गरिएको हो ।

नेपाली कांग्रेस नगर कार्यसमिति जनकपुरधाम उपमहानगरपालिकाका अनुसार अधिवेशनको उद्घाटन समारोह बुधबार दिउँसो २ बजे जनकपुरधाम उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुनेछ ।

अधिवेशनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, प्रतिनिधि, शुभेच्छुक र सहयोगीहरूको सहभागिता रहने आयोजकले जनाएको छ ।

नगर अधिवेशनमार्फत पार्टीको सांगठनिक गतिविधि, आगामी कार्यदिशा तथा स्थानीय तहमा पार्टीलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने विश्वास गरिएको छ ।

नगर कार्यसमिति जनकपुरधाम उपमहानगरपालिकाका संयोजक राकेश विक्रम साहले अधिवेशनमा सम्पूर्ण कांग्रेसीजन, प्रतिनिधि, शुभेच्छुक तथा सहयोगीहरूलाई गरिमामय उपस्थितिका लागि आग्रह गरेका छन् ।

अधिवेशनको मूल आदर्शका रूपमा नेपाली कांग्रेसले अघि सारेको ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद’ लाई समेटिएको छ ।