आईसीयूको अभावमा छटपटाउँदै बिरामी, प्रादेशिक अस्पताल जनकपुरधामको हाल बेहाल
जनकपुरधाम, २० असोज । जनकपुरधाम उपमहानगरपालिका–९ की ६५ वर्षीया मिथिलादेवी कर्ण सोमबार बिहान प्रादेशिक अस्पताल जनकपुरधामको आकस्मिक कक्षमा छटपटाइरहेकी थिइन् । लामो समयदेखि दम रोगबाट पीडित उनको अवस्था गम्भीर बनेपछि चिकित्सकले तत्काल सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गर्नुपर्ने बताएका थिए ।
तर, अस्पतालको ७ बेडको आईसीयूमा एक पनि बेड खाली थिएन । मिथिलादेवीलाई निजी अस्पतालमा लगेर उपचार गराउने आर्थिक क्षमता परिवारसँग छैन । त्यसैले उनका आफन्तहरू अस्पतालकै आकस्मिक कक्षमा आईसीयूको बेड खाली हुने प्रतीक्षामा थिए ।
‘मधेश सरकारको ठूलो अस्पताल हो भन्छन् । तर, आईसीयू नै खाली छैन । हामीजस्ता गरिबले कहाँ गएर उपचार गराउने ?’ कुरुवा बसेकी उनकी छोरी रिताले भनिन्, ‘निजी अस्पतालमा उपचार गराउने हाम्रो क्षमता छैन । त्यसैले यहीँ बसेर आईसीयू खाली हुने प्रतीक्षा गर्नुको विकल्प छैन ।’
मिथिलादेवीको अवस्था मात्रै प्रादेशिक अस्पतालमा देखिएको समस्या होइन । अस्पतालको आकस्मिक कक्षमा दैनिकजसो गम्भीर अवस्थाका बिरामी आईसीयूको अभावमा उपचारको प्रतीक्षामा बस्नुपर्ने अवस्था छ ।
आईसीयूको बेड पर्खिंदै सिकिस्त बिरामी
लोहारपट्टी नगरपालिकाका ५५ वर्षीय राजीव मुखिया आइतबार बिहान ९ बजे प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भए । उनको अवस्था पनि गम्भीर थियो । चिकित्सकले जतिसक्दो चाँडो आईसीयूमा राखेर उपचार गर्नुपर्ने बताएका थिए ।
तर, आईसीयूमा बेड खाली थिएन । मुखियाको परिवारको आर्थिक अवस्था कमजोर छ । दैनिक गुजारा चलाउनसमेत कठिन रहेको परिवारका सदस्यहरू निजी अस्पतालमा महँगो शुल्क तिरेर आईसीयूमा उपचार गराउने अवस्थामा छैनन् । त्यसैले उनीहरू पनि सरकारी अस्पतालमै आईसीयूको बेड खाली हुने प्रतीक्षामा छन् ।

त्यस्तै, धनुषाको बटेश्वर गाउँपालिका–२ पाटोटोलका ७४ वर्षीय रामप्रसाद साह पनि आईसीयूको प्रतीक्षामा थिए । मिर्गौलासम्बन्धी समस्याबाट पीडित साह सोमबार बिहान अस्पतालको आकस्मिक कक्षअन्तर्गत रेड बेड नम्बर–४ मा भर्ना भएका थिए ।
उनको अवस्था गम्भीर भएपछि चिकित्सकले आईसीयूमा राख्नुपर्ने सुझाव दिएका थिए । तर, आईसीयूमा बेड खाली नभएपछि उनी आकस्मिक कक्षमै उपचार गराइरहेका थिए ।
रामप्रसादका छोरा विजेन्द्रकुमार साह सरकारी अस्पतालमा समेत आईसीयूको बेडका लागि घण्टौं कुर्नुपर्ने अवस्थाप्रति दुःखी थिए ।
‘यत्रो ठूलो सरकारी अस्पतालमा आईसीयू बेड कुर्नुपर्ने अवस्था हुनु दुर्भाग्यपूर्ण हो । अस्पताल ठूलो भनेर मात्रै हुँदैन, बिरामीको अवस्थाअनुसार आईसीयू पनि पर्याप्त हुनुपर्छ,’ उनले भने, ‘मेरो बुबाजस्ता धेरै सिकिस्त बिरामी आईसीयू कुरिरहेका छन् । गरिब मान्छे पैसा नभएपछि कहाँ जाने? सरकारले यस विषयमा गम्भीर भएर सोच्नुपर्छ ।’
सोमबार बिहान ११ बजेसम्म मात्रै प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा चार जना सिकिस्त बिरामी आईसीयूको बेडको प्रतीक्षामा थिए । उनीहरू अधिकांश आर्थिक रूपमा कमजोर परिवारका थिए । निजी अस्पतालमा उपचार गराउने अवस्था नभएकाले सरकारी अस्पतालमै आईसीयू पाउने आशमा उनीहरू कुरिरहेका थिए ।
सात बेडको आईसीयू, बिरामीको चाप थेग्नै मुस्किल
प्रादेशिक अस्पताल जनकपुरधाममा हाल ७ बेडको आईसीयू र ३ बेडको भेन्टिलेटर सञ्चालनमा छन् । तर, अस्पतालमा आउने गम्भीर अवस्थाका बिरामीको तुलनामा यो क्षमता निकै न्यून छ ।
अस्पतालको आकस्मिक कक्षमा मात्रै दैनिक १०० देखि १२५ जनासम्म बिरामी भर्ना हुने गरेको चिकित्सकहरू बताउँछन् । तीमध्ये ठूलो संख्यामा अन्य स्वास्थ्य संस्थाबाट रेफर भएर आएका सिकिस्त बिरामी हुन्छन् ।
आकस्मिक कक्षमा कार्यरत एक चिकित्सकका अनुसार आईसीयू र भेन्टिलेटरको सीमित क्षमताका कारण कतिपय बिरामीलाई समयमै आवश्यक उपचार उपलब्ध गराउन कठिन हुने गरेको छ ।
‘यहाँ प्रायः सिकिस्त अवस्थाका बिरामी आउँछन् । धेरैजसो अन्य अस्पतालबाट रेफर भएर आएका हुन्छन् । उनीहरूलाई आईसीयू वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ,’ ती चिकित्सकले भने, ‘तर, आईसीयू र भेन्टिलेटर सीमित भएकाले कतिपय बिरामीले समयमै उपचार पाउन सक्दैनन् । यस्तो अवस्थाले बिरामीको ज्यानसमेत जोखिममा पर्ने गरेको छ ।’
आईसीयू नपाउँदा सर्पदंशका बिरामीको मृत्यु
आईसीयू तथा भेन्टिलेटर अभावले बिरामीको उपचारमा परेको असरको पछिल्लो उदाहरण गत असोज १३ गते रातिको घटना हो ।
जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियाका २५ वर्षीय महेश यादवलाई राति करिब साढे १२ बजे सर्पले टोकेको थियो । सर्पले टोकेपछि उनी आफैं स्कुटी चलाएर जनकपुर प्रादेशिक अस्पताल पुगेका थिए ।
अस्पतालमा आफैं पुर्जी काटेर भर्ना भएका यादवलाई चिकित्सकले उपचार सुरु गरेका थिए । उनलाई १० वटा एन्टीस्नेक भेनमसमेत चलाइएको थियो । तर अवस्था गम्भीर बन्दै गएपछि चिकित्सकले आईसीयूमा राखेर उपचार गर्नुपर्ने सुझाव दिए ।
तर, अस्पतालको आईसीयू तथा भेन्टिलेटर दुवैमा बेड खाली थिएन । अस्पतालले उनलाई अन्यत्र रेफर ग¥यो । त्यसपछि परिवारले जनकपुरकै ओम दीर्घायू अस्पताल पुर्यायो ।

तर, त्यहाँ एन्टीस्नेक भेनम उपलब्ध नभएको भन्दै भर्ना गर्न नसकिएपछि यादवलाई बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रतर्फ लगियो । त्यहाँ पुग्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
समयमै आईसीयू तथा आवश्यक जीवनरक्षक उपचार उपलब्ध हुन नसक्दा उनको मृत्यु भएको परिवारको गुनासो छ ।
गरिबका लागि सरकारी अस्पताल नै अन्तिम विकल्प
प्रादेशिक अस्पताल जनकपुरधाम मधेश प्रदेशकै प्रमुख सरकारी स्वास्थ्य संस्था हो । मधेशका विभिन्न जिल्लासँगै सीमावर्ती क्षेत्रबाट समेत उपचारका लागि ठूलो संख्यामा बिरामी यहाँ आउने गर्छन् ।
तर, अस्पतालमा आउने बिरामीको चाप र उपलब्ध पूर्वाधारबीच ठूलो अन्तर छ । आर्थिक रूपमा सम्पन्न परिवारका बिरामी निजी अस्पतालमा उपचार गराउन जान सक्छन् । तर, विपन्न तथा न्यून आय भएका परिवारका लागि सरकारी अस्पताल नै उपचारको प्रमुख आधार हो ।
त्यसैले प्रादेशिक अस्पतालमा आईसीयूको बेड नपाउँदा उनीहरूसँग निजी अस्पतालको विकल्पसमेत हुँदैन ।
मिथिलादेवी कर्ण, राजीव मुखिया र रामप्रसाद साहका परिवारको अवस्था त्यसैको उदाहरण हो । उनीहरूलाई चिकित्सकले आईसीयू आवश्यक भएको बताए पनि आर्थिक अवस्थाका कारण निजी अस्पतालमा लैजान नसक्दा सरकारी अस्पतालमै बेड खाली हुने प्रतीक्षा गर्नुपरेको छ ।
आईसीयू विस्तारमा मुख्य बाधक जनशक्ति
अस्पताल प्रशासनका अनुसार आईसीयू र भेन्टिलेटरको संख्या थप्न सकिने अवस्था भए पनि त्यसका लागि आवश्यक जनशक्ति उपलब्ध छैन ।
हाल ७ बेडको आईसीयू र ३ बेडको भेन्टिलेटर सञ्चालनमा छन् । त्यसका लागि १६ जना स्टाफ नर्स कार्यरत छन् । तर संघीय सरकारको मापदण्डअनुसार आवश्यक जनशक्ति भने यसभन्दा निकै बढी हो ।
अस्पतालका निर्देशक डा. जामुनप्रसाद सिंहका अनुसार हालको क्षमताअनुसार समेत पर्याप्त जनशक्ति छैन ।
विशेषगरी भेन्टिलेटर सञ्चालनका लागि प्रत्येक सिफ्टमा आवश्यक नर्सिङ जनशक्ति व्यवस्थापन गर्नुपर्ने हुन्छ । चार सिफ्टका लागि आवश्यक जनशक्ति गणना गर्दा तीनवटा भेन्टिलेटर सञ्चालन गर्न पनि पर्याप्त नर्स आवश्यक पर्छन् ।
तर, अहिले सीमित जनशक्तिबाटै सेवा सञ्चालन भइरहेको निर्देशक सिंह बताउँछन् । उनका अनुसार जनशक्ति थप गर्न सकिए तत्कालै आईसीयू र भेन्टिलेटर बेडको संख्या बढाउन सकिने अवस्था छ ।
‘मूलतः अहिले जनशक्तिको समस्या छ । जनशक्ति थप भयो भने आईसीयू र भेन्टिलेटरका बेड थप्न सकिन्छ,’ निर्देशक सिंहले भने ।
१०० बेड स्वीकृत अस्पताल, अहिले ३९० बेडमा सञ्चालन
प्रादेशिक अस्पताल जनकपुरधामको समस्या केवल आईसीयू र जनशक्तिमा मात्रै सीमित छैन । अस्पतालको समग्र संरचना नै बिरामीको वर्तमान चापअनुसार अपर्याप्त रहेको अस्पताल प्रशासनको भनाइ छ ।
२०४८ सालमा १०० बेड क्षमताका लागि स्वीकृति पाएको अस्पताल अहिलेसम्म औपचारिक रूपमा सोही आधारमा सञ्चालन संरचनाबाट माथि उठ्न सकेको छैन । नयाँ दरबन्दीसमेत स्वीकृत भएको छैन ।
तर, अहिले अस्पताल ३९० बेड क्षमतामा सञ्चालन भइरहेको अस्पतालका सूचना अधिकारी डा. रामज्ञान यादव बताउँछन् ।
उनका अनुसार अस्पतालले आन्तरिक स्रोतबाट जेनतेन जनशक्ति व्यवस्थापन गरेर सेवा सञ्चालन गरिरहेको छ । अस्पतालमा दैनिक करिब दुई हजारको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । बिरामीको वर्तमान चापअनुसार अस्पताललाई कम्तीमा ८०० बेड आवश्यक रहेको उनको भनाइ छ ।
प्रतिष्ठान बन्यो, संरचना र दरबन्दी थपिएन
मधेश सरकारले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरी साविक जनकपुर अञ्चल अस्पताललाई आफ्नो मातहत ल्याएको लामो समय भइसकेको छ ।
तर, अस्पतालको बिरामीको चापअनुसार बेड संख्या, स्थायी दरबन्दी र आवश्यक स्वास्थ्य जनशक्ति विस्तार हुन नसकेको अस्पताल प्रशासनको गुनासो छ ।
सरकारले अस्पताललाई प्रदेशको प्रमुख स्वास्थ्य संस्थाका रूपमा विकास गर्ने घोषणा गरे पनि व्यवहारमा आवश्यक पूर्वाधार र जनशक्ति विस्तार हुन नसक्दा उपचार सेवामा समस्या देखिएको छ ।
अस्पताल प्रशासनका अनुसार प्रदेश सरकारले बिरामीको चापअनुसार आवश्यक जनशक्ति व्यवस्थापनका लागि पर्याप्त बजेट उपलब्ध नगराउँदा सेवा विस्तारमा कठिनाइ भइरहेको छ ।
‘रेफर सेन्टर’ बन्ने जोखिम
प्रादेशिक अस्पताल जनकपुरधाममा आउने बिरामीको संख्या बढ्दै गए पनि आवश्यक उपचारका लागि पर्याप्त आईसीयू, भेन्टिलेटर, जनशक्ति र अन्य पूर्वाधार नहुँदा अस्पताल स्वयं उपचार केन्द्रभन्दा बढी रेफर गर्ने संस्थाका रूपमा परिणत हुने जोखिम बढेको चिकित्सकहरू बताउँछन् ।
गम्भीर बिरामीलाई तत्काल आईसीयू आवश्यक पर्ने अवस्थामा बेड नहुँदा अन्य अस्पतालमा पठाउनुपर्ने बाध्यता छ । तर निजी अस्पतालमा महँगो उपचार शुल्क तिर्न नसक्ने बिरामीका लागि रेफर गर्नु अर्को समस्या बन्ने गरेको छ ।
एकातिर सरकारी अस्पतालमा आईसीयू नपाउने, अर्कोतर्फ निजी अस्पतालमा उपचार गराउन नसक्ने अवस्थाले विपन्न परिवारका बिरामी सबैभन्दा बढी मारमा पर्ने गरेका छन् ।
अस्पताल भन्छ–‘उपलब्ध स्रोतबाट सेवा सुधार्ने प्रयासमा छौं’
अस्पतालका निर्देशक डा. जामुनप्रसाद सिंहले उपलब्ध स्रोतसाधनबाटै बिरामीलाई प्रभावकारी उपचार सेवा दिने प्रयास भइरहेको बताएका छन् ।
तर, बिरामीको चापअनुसार आवश्यक जनशक्ति र पूर्वाधार उपलब्ध नभएकाले चुनौती रहेको उनको स्वीकारोक्ति छ ।

‘भएको साधनस्रोतबाटै प्रभावकारी उपचार सेवा दिने प्रयास गरिरहेका छौं । तर, आवश्यक जनशक्ति नहुँदा बिरामीको चापअनुसार सेवा दिन कठिनाइ भइरहेको छ,’ उनले भने, ‘अस्पतालको सेवा सुधार गर्ने प्रयास भइरहेको छ ।’
प्रादेशिक अस्पताल जनकपुरधामको अवस्था हेर्दा समस्या एउटा आईसीयू बेडको मात्रै होइन । अस्पतालको स्वीकृत क्षमता, वर्तमान बिरामीको चाप, स्वास्थ्यकर्मीको संख्या, आईसीयू भेन्टिलेटरको उपलब्धता र सरकारको लगानीबीच ठूलो अन्तर देखिन्छ ।
बिरामीको चाप दिनप्रतिदिन बढ्दै जाने तर त्यसअनुसार पूर्वाधार र जनशक्ति विस्तार नहुने हो भने आईसीयूको बेडका लागि बिरामीले घण्टौं कुर्नुपर्ने अवस्था अझ गम्भीर बन्न सक्छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



