पान मधेश प्रदेशको शिखर सम्मेलनबाट १४ निर्णय
पर्सा, २० असोज । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) मधेश प्रदेशको प्रादेशिक शिखर सम्मेलनले विद्यालयको जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउन पहल गर्नेदेखि प्रधानाध्यापकको पेशागत क्षमता अभिवृद्धि र डिजिटल स्रोत पोर्टल निर्माणसम्मका १४ निर्णय गरेको छ ।
सम्मेलनको बन्द सत्रले विद्यालय नेतृत्व, संगठन सुदृढीकरण र शैक्षिक नवप्रवर्तनसम्बन्धी प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको हो ।
सम्मेलनले जग्गाधनी प्रमाणपुर्जा नभएका विद्यालयलाई प्रमाणपुर्जा दिलाउन सम्बन्धित निकायसँग पहल गर्ने, प्रधानाध्यापकका लागि डिजिटल स्रोत पोर्टल निर्माण गर्ने तथा प्रदेशस्तरीय विज्ञान प्रदर्शनी र डिजिटल मेला आयोजना गर्ने निर्णय गरेको छ ।
त्यस्तै, प्रधानाध्यापकको नेतृत्व तथा पेशागत क्षमता विकासका लागि नियमित कार्यशाला सञ्चालन गर्ने, विद्यालय पूर्वाधार विकासमा सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्ने र संगठनलाई स्थानीय तहसम्म विस्तार गर्ने निर्णय गरिएको छ ।
पानले सदस्यता प्रमाणीकरण, विधान संशोधनका लागि सुझाव संकलन तथा प्रदेश कार्यसमिति पुनर्गठन गर्ने निर्णयसमेत गरेको छ ।
विदेशका प्रधानाध्यापक संघ–संस्थासँग सहकार्य गरी अनुभव आदानप्रदान गर्ने तथा पानको तेस्रो राष्ट्रिय सभा जनकपुरधाममा आयोजना गर्न पहल गर्ने निर्णय पनि सम्मेलनले गरेको छ ।
यसैगरी, पान मधेश प्रदेशका तत्कालीन अध्यक्ष सञ्जयकुमार झालाई केन्द्रीय पदाधिकारीका लागि सिफारिस गर्ने निर्णयसमेत गरिएको पान मधेश प्रदेशले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



