-आशिक हुसैन शेख
दोहा, कतार, १९ असोज ।
थारू कल्याणकारिणी सभा (थाकसा) कतार च्याप्टरअन्तर्गत महिला विभागले आयोजना गरेको ‘जितिया पर्व विशेष सांस्कृतिक कार्यक्रम–२०२६’ भव्य रूपमा सम्पन्न भएको छ ।

कतारको सनैयास्थित प्लाजा मलमा रहेको मेसकैफे रेस्टुरेन्टको सभाहलमा आयोजित कार्यक्रममा प्रवासमा रहेका थारू समुदायले आफ्नो मौलिक भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षणको प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘जातीय पहिचानको संरक्षण, प्रवर्द्धन, शैक्षिक, आर्थिक, सामाजिक उत्थान हाम्रो समर्पण’ भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा कतारमा रहेका थारू समुदायका सदस्यसँगै विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, व्यवसायी, इन्जिनियर, बुद्धिजीवी तथा सञ्चारकर्मीको सहभागिता थियो ।

कार्यक्रमको अध्यक्षता थाकसा कतार च्याप्टर महिला विभाग प्रमुख शर्मिला चौधरीले गरेकी थिइन् ।

नेपाल आदिवासी जनजाति महासंघ कतारकी महिला विभाग संयोजक रबिना मगर प्रमुख अतिथि तथा नेपाली महिला समाज कतारकी उपाध्यक्ष लिला राई विशिष्ट अतिथिका रूपमा सहभागी थिए ।

कार्यक्रममा थाकसा कतारका सभापति भगवती प्रसाद चौधरी, संरक्षक इन्जिनियर सियाराम चौधरी, प्रमुख सल्लाहकार हरि बहादुर महतो, विशेष सल्लाहकार श्यामलाल चौधरी, संस्थापक महामन्त्री तथा नेपाल इन्जिनियरिङ एसोसिएसन कतार च्याप्टरका अध्यक्ष इन्जिनियर सिताराम चौधरीलगायतको उपस्थिति थियो ।

कार्यक्रममा बोल्दै इन्जिनियर सिताराम चौधरीले थारू समुदायको मौलिक भाषा, संस्कृति, परम्परा र रीतिरिवाज संरक्षण गर्दै नयाँ पुस्तासम्म हस्तान्तरण गर्नुपर्नेमा जोड दिए ।

प्रवासमा रहेर पनि आफ्नो सांस्कृतिक पहिचानलाई जीवन्त राख्नु समुदायको साझा दायित्व भएको उनको भनाइ थियो ।

उनले कतारमा रहेका थारू समुदायबीच आपसी एकता, भाइचारा र सहकार्यलाई अझ मजबुत बनाउनुपर्ने बताउँदै नेपाली समाजका विभिन्न समुदायबीच सद्भाव, सहिष्णुता र एकताको भावना कायम राख्नुपर्नेमा समेत जोड दिए ।

कार्यक्रमको शुरुवात राष्ट्रिय गानबाट गरिएको थियो । त्यसपछि ज्ञात अज्ञात शहीद तथा रसुवा र नुवाकोटमा आएको बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौनधारण गरिएको थियो ।

प्राकृतिक विपत्तिमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको थियो ।

स्वागत नृत्यपछि कार्यक्रम संयोजक गंगा चौधरी र पूजा चौधरीले स्वागत मन्तव्य राखिन् । अतिथिहरूलाई खादा ओढाएर सम्मान गर्नुका साथै दीप प्रज्वलन गरी कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो ।

जितिया पर्वको धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक महत्वबारे सृजना चौधरीले प्रकाश पारेकी थिइन् ।

थाकस कतारका सांस्कृतिक संरक्षक तथा सल्लाहकार अरुण कुमार चौधरीले परम्परागत जितिया कथा वाचन गरेका थिए ।

कार्यक्रममा थारू समुदायका मौलिक गीत, संगीत र नृत्य प्रस्तुत गरिएका थिए । ‘एले जितिया’, ‘थारु पावन खेले’, ‘झुम्रा नाच’, ‘गुराँस फुल्दा बनाई रमाइलो’, ‘जिन्गी रे’ तथा ‘थुन्दिया बोलाए सजना’ लगायतका गीतमा कलाकारहरूले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

सुनिता, पूजा, पूर्णिमा, सुस्मिता, एन्जिला, रितु, बिन्दा, हरेराम, सञ्जय, कमल, जीवन, प्रिया, रिमा, समिता, गंगा, विमल, महेन्द्र, मनोज, सिर्जना, अरुण र पुलकितलगायत कलाकारको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो ।

त्यस्तै, अन्तर्राष्ट्रिय मिथिला कला संस्कृति ग्रुप दोहा कतारको सहयोगमा मनिष गोस्वामी, सन्तोष विश्वकर्मा, मनोज शर्मा, जितेन्द्र पासवान, राम जनम मण्डल, रामानन्द चौधरी, सैलेन्द्र यादव, विश्वेश्वर प्रसाद र वोकिल मण्डललगायत कलाकारले समेत प्रस्तुति दिएका थिए ।

सन्तोषी चौधरी, उपेन्द्र, बिना, सविन चौधरी, अजय कुमार धनुवार र चन्द्र चौधरीलगायत गायक गायिकाले प्रस्तुत गरेका गीतले कार्यक्रमलाई थप सांगीतिक र मनोरञ्जनात्मक बनाएको थियो ।

कलाकारका प्रस्तुति, परम्परागत गीत संगीत र नृत्यले कार्यक्रमस्थललाई थारू सांस्कृतिक उत्सवमा परिणत गरेको थियो ।

प्रवासमा रहेर पनि आफ्नो मौलिक संस्कृति र पहिचानलाई निरन्तरता दिने सन्देश कार्यक्रममार्फत दिइएको थियो ।

कार्यक्रममा सहभागी अतिथि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिले जितिया पर्वको शुभकामना दिँदै प्रवासमा थारू समुदायको भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षणमा यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने बताएका थिए ।