भंगहामा प्रथम नगरस्तरीय शैक्षिक मेला सम्पन्न
महोत्तरी, १६ असोज । महोत्तरीको भंगहा नगरपालिकामा प्रथम नगरस्तरीय शैक्षिक मेला सम्पन्न भएको छ ।
विद्यार्थीमा रहेको प्रतिभा, सिर्जनशीलता तथा व्यवहारिक सीप उजागर गर्ने उद्देश्यले मेला आयोजना गरिएको हो ।
भंगहा नगरपालिका र गुड नेवर्स इन्टरनेशनल नेपालको सहयोग तथा दलित समाज उत्थान समिति नेपालको आयोजनामा भएको मेलामा नगर क्षेत्रका १४ विद्यालयका विद्यार्थीले सहभागिता जनाएका थिए ।
मेलामा विद्यार्थीहरूले स्थानीय तथा रैथाने वस्तुको प्रदर्शनीसँगै कला, संस्कृति र प्राविधिक सीप प्रस्तुत गरेका थिए ।
मेलाले विद्यार्थीमा सीप विकाससँगै सकारात्मक प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने भंगहा नगरपालिकाका नगरप्रमुख संजीवकुमार साहले बताए ।

यस्ता कार्यक्रमले विद्यार्थीको सिर्जनशीलता र प्रतिभालाई बाहिर ल्याउनुका साथै शैक्षिक स्तर सुधारमा समेत योगदान पुर्याउने उनको भनाइ छ ।
शिक्षालाई कक्षाकोठाभित्रको सिकाइमा मात्र सीमित गर्न नहुने भंगहा नगरपालिकाका शिक्षा शाखा प्रमुख नरबहादुर पाख्रिनले बताए ।
विद्यार्थीले कक्षाकोठाबाहिर आफ्नो ज्ञान, सीप र प्रतिभा प्रस्तुत गर्ने अवसर पाउनुपर्ने आवश्यकता महसुस गरी शैक्षिक मेला आयोजना गरिएको उनले जानकारी दिए ।
यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको उत्साह बढाउनुका साथै सिकाइको स्तरसमेत प्रभावकारी बनाउने शिक्षा शाखा प्रमुख पाख्रिनको भनाइ छ ।
शैक्षिक मेलामा भंगहा नगरपालिकाका १४ विद्यालयका ५ हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए ।
कार्यक्रममा नगरपालिकाका उपप्रमुख, शिक्षा क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्व तथा नगरपालिकाका कर्मचारीहरूको समेत सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



