जनकपुरधाम, १५ असोज । नेपाल रेडक्रस सोसाइटी धनुषा जिल्ला तदर्थ समितिका सभापति पंकज कुमार महतोले जनकपुरधामस्थित जानकी आँखा अस्पतालको व्यवस्थापन तथा सञ्चालनको जिम्मेवारी सम्हाल्दै बिहीबार पदभार ग्रहण गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले अर्को व्यवस्था नभएसम्मका लागि अस्पतालको अल्पकालीन व्यवस्थापनको जिम्मेवारी धनुषा जिल्ला तदर्थ समितिलाई दिएपछि सभापति महतोले आजदेखि औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन् ।

केन्द्रीय कार्यालयका महामन्त्री ऋषिरमण खनालले जिल्ला तदर्थ समितिका सभापति महतोलाई बुधबार पत्र पठाउँदै अस्पतालको व्यवस्थापन तथा सञ्चालनलाई व्यवस्थित र प्रभावकारी रूपमा निरन्तरता दिन अन्तरिम व्यवस्थाका रूपमा जिम्मेवारी प्रदान गरेका थिए ।

पदभार ग्रहण गर्दै सभापति महतोले अस्पतालको नियमित सेवा प्रवाहमा कुनै अवरोध आउन नदिने तथा बिरामीलाई सहज र प्रभावकारी रूपमा सेवा उपलब्ध गराउनेतर्फ प्राथमिकता दिने बताए ।

केन्द्रीय कार्यालयले अस्पताल सञ्चालनका क्रममा आवश्यक समन्वय तथा परामर्श केन्द्रीय कार्यालयसँग गर्न, रेडक्रस सोसाइटीको नीति, नियम तथा प्रचलित व्यवस्थाअनुसार कार्यसम्पादन गर्न निर्देशन दिएको छ ।

त्यस्तै, अस्पतालसँग सम्बन्धित महत्वपूर्ण निर्णय तथा संवेदनशील विषयमा केन्द्रीय कार्यालयसँग आवश्यक समन्वय गरेर मात्रै निर्णय लिनसमेत निर्देशन दिइएको छ ।

जानकी आँखा अस्पताल नेपाल रेडक्रस सोसाइटीअन्तर्गत सञ्चालन हुँदै आएको जनकपुरधामको महत्वपूर्ण आँखा उपचार केन्द्र हो ।

अस्पतालको व्यवस्थापनमा देखिएका पछिल्ला विषयलाई सम्बोधन गर्दै सेवा प्रवाहलाई निरन्तरता दिन केन्द्रीय कार्यालयले तत्कालका लागि धनुषा जिल्ला तदर्थ समितिलाई व्यवस्थापनको जिम्मेवारी दिएको हो ।

यो जिम्मेवारी अर्को व्यवस्था नभएसम्मका लागि मात्र लागू हुने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले जनाएको छ ।