जनकपुरधाम, १५ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा क्षेत्रीय सभापति पदका लागि योगनारायण यादवले उम्मेदवारी घोषणा गरेका छन् ।

लामो समयदेखि कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका यादवले आफ्नो राजनीतिक यात्रा २०५१ सालदेखि निरन्तर अघि बढाईरहेका छन् ।

उनले २०५१ सालमा तत्कालीन गोपालपुर गाउँ विकास समितिको बनेपाल तरुण दलको सभापतिको जिम्मेवारी सम्हालेका थिए ।

त्यसपछि २०५८ सालमा गोपालपुर गाउँ इकाइ समितिको पार्टी सभापति तथा २०६० सालमा सोही गाउँ इकाइको सहसभापतिको जिम्मेवारीमा रहेर संगठन निर्माणमा भूमिका निर्वाह गरेका थिए ।

कांग्रेस संगठनभित्र जिम्मेवारी सम्हाल्ने क्रममा यादव २०६४ सालमा क्षेत्रीय सचिव बने । त्यसपछि पुनः क्षेत्रीय सचिवको जिम्मेवारी सम्हाल्दै लामो समय क्षेत्रीय संगठनमा काम गरेका छन् ।

२०६२ देखि २०७५ सालसम्म क्षेत्रीय सचिवका रूपमा सक्रिय रहेको र २०७८ सालदेखि हालसम्म क्षेत्रीय उपसभापति तथा प्रदेशसभा क्षेत्रीय सभापतिको जिम्मेवारीमा रहेको यादवले बताए ।

यादवले २०८३ साल जेठ ९ गतेदेखि कार्यवाहक क्षेत्रीय सभापतिको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् ।

लामो समय पार्टीको वडा, गाउँ, क्षेत्रीय तथा प्रदेशसभा तहको संगठनमा काम गरेको अनुभवलाई आधार बनाएर उनले यसपटक क्षेत्रीय सभापति पदमा उम्मेदवारी अघि सारेका हुन् ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा देशभर वडा तथा पालिका तहका अधिवेशनपछि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ ।

कांग्रेसका अनुसार असोज ८ गतेसम्म ६६ जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न भइसकेको थियो । मौसम प्रतिकूल भएका स्थानमा भने अधिवेशनको मिति स्थानीय अवस्थाअनुसार समायोजन गर्न निर्देशन दिइएको छ ।

धनुषामा पनि महाधिवेशनको तयारीसँगै क्षेत्रीय तहको नेतृत्वका लागि आन्तरिक प्रतिस्पर्धा र संगठनात्मक गतिविधि बढेको छ ।

धनुषा–४ मा यसअघि क्रियाशील सदस्यताको मतदाता नामावली समयमै नआएका कारण वडा अधिवेशन प्रभावित भएको समाचारसमेत सार्वजनिक भएको थियो ।

धनुषा–४ कांग्रेसका लागि संगठनात्मक रूपमा पनि महत्वपूर्ण क्षेत्रका रूपमा रहँदै आएको छ ।

यस क्षेत्रबाट विगतमा पार्टीका केन्द्रीय तहका नेताहरू निर्वाचनमा प्रतिस्पर्धा गरेका उदाहरण छन् ।

क्षेत्रीय सभापतिको उम्मेदवारीसँगै यादवले आफूले लामो समयदेखि हासिल गरेको संगठनात्मक अनुभवलाई आगामी कार्यकालमा पार्टीको क्षेत्रीय संरचना सुदृढीकरण, नेता–कार्यकर्ताबीच समन्वय तथा संगठन विस्तारमा उपयोग गर्ने बताएका छन् ।

धनुषा–४ को क्षेत्रीय अधिवेशनमा अब क्षेत्रीय सभापतिसहित अन्य पदमा हुने उम्मेदवारी र प्रतिनिधिहरूको समर्थनले नयाँ नेतृत्व चयनको प्रक्रिया निर्धारण गर्नेछ ।