जनकपुरधाम, १५ असोज । जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब) का विद्यार्थीहरूले क्याम्पस प्रशासनले अतिथि सत्कार, खाना तथा नास्तालगायतका शीर्षकमा ठूलो रकम खर्च गरेको भन्दै खर्च विवरण सार्वजनिक गर्न माग गरेका छन् ।

आन्दोलनरत विद्यार्थीहरूले बिहीबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै क्याम्पसको आर्थिक कारोबार पारदर्शी बनाउनुपर्ने माग गरेका हुन् ।

उनीहरूले क्याम्पस प्रशासनले विभिन्न शीर्षकमा गरेको खर्चबारे स्पष्ट जानकारी नदिए चरणबद्ध आन्दोलनलाई थप कडा बनाउने चेतावनी दिएका छन् ।

राराब क्याम्पस स्ववियुका पूर्वसभापति मनिष यादवले गत आर्थिक वर्ष २०८२/०८३ को लेखापरीक्षणसम्बन्धी टीडीएस विवरणमा निर्मला श्रेष्ठको नाममा ४० लाख ८५ हजार ६ सय ६५ रुपैयाँ र शारदा देवी लामिछानेको नाममा ८ हजार ६ सय रुपैयाँ भुक्तानी भएको देखिएको दाबी गरे ।

उक्त रकम कुन प्रयोजनका लागि भुक्तानी गरिएको हो भन्नेबारे क्याम्पस प्रशासनले स्पष्ट जवाफ दिनुपर्ने उनको माग छ ।

शिक्षाको थलोमा अतिथि सत्कारलगायतका नाममा ठूलो रकम खर्च गरिनु उचित नभएको यादवको भनाइ थियो । उनले राराब क्याम्पस जनकपुरधामको महत्वपूर्ण शैक्षिक धरोहर भएकाले यसलाई आर्थिक अनियमितताको केन्द्र बन्न नदिन विद्यार्थीहरू खबरदारीमा उत्रिएको बताए ।

त्यस्तै, विद्यार्थी रञ्जित मण्डलले क्याम्पस प्रशासन, कर्मचारी तथा ठेकेदारहरू विद्यार्थीको शैक्षिक हितभन्दा व्यक्तिगत स्वार्थमा केन्द्रित भएको आरोप लगाए । कर्मचारी र ठेकेदारको मिलेमतोमा कमिसनको खेल भइरहेको आरोप लगाउँदै उनले क्याम्पसबाट ‘कस्मेटिक पसल’मा समेत भुक्तानी भएको दाबी गरे ।

क्याम्पसमा कस्मेटिक सामग्रीको आवश्यकता र त्यसका लागि गरिएको भुक्तानीको औचित्यमाथि समेत मण्डलले प्रश्न उठाए ।

विद्यार्थीहरूले क्याम्पसको सम्पूर्ण आय–व्यय सार्वजनिक गरी आर्थिक कारोबार पारदर्शी बनाउनुपर्ने, स्मार्ट कक्षाकोठा तथा स्मार्ट पुस्तकालय निर्माण गर्नुपर्ने र नियमित रूपमा कक्षा सञ्चालन गर्नुपर्नेलगायतका माग अघि सारेका छन् ।

उनीहरूले माग सम्बोधन नभए चरणबद्ध आन्दोलनलाई निरन्तरता दिने चेतावनी दिएका छन् ।