जनकपुरधाम, १४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत धनुषा क्षेत्र नं. ३ को प्रदेशसभा क्षेत्र (२) बाट प्रदेश प्रतिनिधि पदमा युवा नेता दीपक कुमार ठाकुरले उम्मेदवारी दर्ता गराएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका–८ का स्थायी बासिन्दा ठाकुर पछिल्लो समय पार्टीको संगठनात्मक गतिविधिसँगै शिक्षा तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

इन्जिनियरिङ अध्ययन गरेका उनी जनकपुरधाममा विद्यालय सञ्चालन गर्दै शिक्षा क्षेत्रमा समेत आबद्ध छन् ।

ठाकुरले नेपाली कांग्रेसबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । पार्टी गतिविधिसँगै युवा सहभागिता, शिक्षा, सरसफाइ तथा सामाजिक उत्तरदायित्वका विषयमा उनले विभिन्न अभियान सञ्चालन गर्दै आएको बताइएको छ ।

करिब ७–८ वर्षअघि उनले ‘आफ्नो वार्ड आफैँ बनाऔँ’ अभियान सञ्चालन गर्दै सरसफाइ तथा घरघरमा कोडिङ गर्ने अभियान अघि बढाएका थिए ।

त्यसयता पनि जनकपुरधाममा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको उनको भनाइ छ ।

कोरोना महामारीका समयमा समेत ठाकुर सामाजिक गतिविधिमा सक्रिय थिए । शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न जिम्मेवारीमा रहेर उनले शैक्षिक सुधारका विषय उठाउँदै आएका छन् ।

उनी जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा समितिका सदस्यसमेत हुन् ।

त्यसैगरी, एनप्याब्सन जनकपुरधाम नगर समितिको अध्यक्षका रूपमा उनले निजी विद्यालयसँग सम्बन्धित समस्या, शैक्षिक गुणस्तर, व्यवस्थापन तथा विद्यार्थीको समग्र विकासका विषयमा आवाज उठाउँदै आएका छन् ।

प्रदेश प्रतिनिधिमा उम्मेदवारी दिएसँगै ठाकुरले पार्टी संगठनमा युवा पुस्ताको सहभागिता बढाउनुपर्नेमा जोड दिएका छन् ।

उनले आफ्नो उम्मेदवारीलाई शिक्षा सुधार, सरसफाइ र सामाजिक उत्तरदायित्वका विषयसँग जोडेर अघि बढाउने बताए ।

‘शिक्षा र सरसफाइ मेरो प्रमुख एजेन्डाभित्र पर्छ । यसको लागि जति हुन्छ, म हरप्रहर सुधारको पक्षमा रहन्छु,’ ठाकुरले भने ।

उनको उम्मेदवारीसँगै धनुषा–३(२) को कांग्रेस आन्तरिक निर्वाचनमा युवा पुस्ताको प्रतिनिधित्व र सामाजिक अभियानसँग जोडिएका विषयसमेत चर्चामा आएका छन् ।