जनकपुरधाम, १३ असोज । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको जनकपुरधामस्थित रामस्वरूप रामसागर बहुमुखी क्याम्पस (राराब) का क्याम्पस प्रमुख प्रा.डा. वसन्तकुमार कर्णले क्याम्पस प्रशासन र आफ्नो कार्यशैलीलाई लक्षित गरी पछिल्लो समय सामाजिक सञ्जालमा भइरहेका प्रचारप्रति आपत्ति जनाएका छन् ।

कर्णले मंगलबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै निवर्तमान स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) का केही पदाधिकारी तथा केही युवाले आफू र क्याम्पसविरुद्ध भ्रामक, निराधार तथा कपोलकल्पित सामग्री सामाजिक सञ्जालमार्फत प्रसार गरिरहेको दाबी गरे । उनले क्याम्पस सुधारका लागि आफूले थालेका कामलाई प्रभावित पार्ने प्रयास भए पनि सुधार अभियानलाई निरन्तरता दिने बताए ।

पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख कर्णले आयकर कट्टीसँग सम्बन्धित कागजात, विभिन्न फर्म तथा भ्याट विवरणलाई लिएर सामाजिक सञ्जालमा भइरहेका प्रचारबारे पनि आफ्नो धारणा सार्वजनिक गरे ।

उनका अनुसार आन्तरिक राजस्व कार्यालय जनकपुरधामका कर्मचारीसँग आयकर कट्टीसम्बन्धी जानकारी माग्दा एक पूर्वठेकेदारलाई वर्षभरिका कागजात प्रिन्ट गरी उपलब्ध गराइएको र त्यस क्रममा कागजातको गोपनीयता चुहिएको अवस्था देखिएको थियो ।

कर्णले भ्याटसँग सम्बन्धित कागजातमा उल्लेख भएका प्यान नम्बर र ती प्यान नम्बरअन्तर्गत रहेका फर्मलाई लिएर विवाद सिर्जना गरिएको बताए । एउटै प्यान नम्बरबाट एकभन्दा बढी प्रकृतिका व्यवसाय सञ्चालन गर्न सकिने कानुनी व्यवस्थालाई बेवास्ता गर्दै केही कागजातलाई फरक ढंगले व्याख्या गरी आफू तथा क्याम्पस प्रशासनलाई विवादमा तान्ने प्रयास भएको उनको भनाइ थियो ।

उनले पटेल अण्डा उद्योगसँग जोडेर गरिएको प्रचारको समेत खण्डन गरे । उनका अनुसार पटेल अण्डा उद्योगका सञ्चालक रुपेश पटेलकै नाममा रहेको व्यवसायसँगै पटेल होटल पनि सञ्चालनमा रहेको छ । राराब क्याम्पसमा आउने अतिथिका लागि सो होटलबाट खाना तथा नास्ता उपलब्ध गराई त्यसबापत भुक्तानी गरिएका बिललाई अण्डा खरिदको बिलका रूपमा प्रचार गरिएको कर्णले बताए ।

त्यस्तै, आरती किराना तथा कस्मेटिक्सका सञ्चालक सरोजकुमार यादवको प्यान नम्बरमा आरती ट्राभल्स एण्ड टुर्ससमेत उल्लेख रहेको भन्दै क्याम्पसले सो ट्राभल्ससँग गरेको वार्षिक सम्झौताअनुसार विद्यार्थी तथा कार्यालय प्रयोजनका लागि प्रयोग भएका बस, जिपलगायत सवारीसाधनको भुक्तानीलाई चामल, ब्युटीपार्लरलगायतका सामान खरिदका रूपमा प्रचार गरिएको उनले दाबी गरे ।

कर्णले यस्ता विषयलाई लिएर क्याम्पस प्रशासन तथा व्यक्तिको चरित्रमा प्रश्न उठाउने किसिमका सामग्री सार्वजनिक भइरहेको भन्दै तथ्यलाई सही रूपमा बुझ्न आग्रह गरे । उनले क्याम्पस प्रशासनले आर्थिक तथा प्रशासनिक कामलाई प्रचलित प्रक्रिया र सम्झौताका आधारमा अघि बढाउँदै आएको दाबी गरे ।

क्याम्पस प्रमुख कर्णले आफू नेतृत्वमा आएपछि शैक्षिक तथा भौतिक पूर्वाधार सुधारसँगै क्याम्पसलाई प्रविधिमैत्री बनाउने कामलाई प्राथमिकता दिएको बताए ।

उनका अनुसार क्याम्पसका कम्प्युटर प्रयोगशालामा हाई स्पिड इन्टरनेट जडान गर्ने प्रक्रिया अघि बढाइएको छ । विद्यार्थीलाई अध्ययन, अनुसन्धान तथा सूचना प्रविधिसँग जोड्न आवश्यक पूर्वाधार विस्तार भइरहेको उनले जानकारी दिए ।

त्यस्तै, क्याम्पसको भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण मानिएको मेगा परीक्षा भवन निर्माणको काम अघि बढिरहेको कर्णले बताए । उनका अनुसार त्रिभुवन विश्वविद्यालयकै नमुना परीक्षा हलका रूपमा निर्माण भइरहेको उक्त भवन यही मंसिरसम्म सम्पन्न गरी हस्तान्तरण गर्ने लक्ष्य छ ।

परीक्षा सञ्चालनका क्रममा क्याम्पसका नियमित कक्षा प्रभावित हुने समस्या समाधान गर्न परीक्षा भवन महत्वपूर्ण हुने उनको भनाइ छ । ‘परीक्षाका बेला कक्षा कोठा खाली गराउनुपर्ने अवस्थाको अन्त्य गर्न मेगा परीक्षा हल निर्माणलाई प्राथमिकता दिइएको छ,’ कर्णले भने ।

क्याम्पस प्रमुख कर्णले राराब क्याम्पसमा कानुन विषयको अध्ययनलाई पनि विस्तार गरिएको जानकारी दिए । उनका अनुसार एलएलबी कार्यक्रम सञ्चालनमा आइसकेको छ भने कानुन विषयको पठनपाठनका लागि छुट्टै भवन निर्माणको कामसमेत मेगा परीक्षा हलसँगै अघि बढाइएको छ ।

उनले क्याम्पसको विज्ञान भवनको जीर्ण छतका कारण विद्यार्थी तथा प्रयोगशालाको सुरक्षामा जोखिम देखिएको भन्दै त्यसको पुनर्निर्माणको तयारी भइरहेको बताए । विज्ञान भवनको छत पूर्णरूपमा नयाँ निर्माण गरी भवनको आयु थप गर्ने योजना रहेको र त्यसका लागि यूएनडीपीबाट १ करोड २५ लाख रुपैयाँ सहयोगको प्रतिबद्धता प्राप्त भएको कर्णले जानकारी दिए ।

उनका अनुसार सहयोग प्राप्त भएपछि छिट्टै छत निर्माणको काम सुरु गरिनेछ । यसबाट जीर्ण अवस्थामा रहेको विज्ञान भवनलाई सुरक्षित बनाउँदै प्रयोगशाला सञ्चालनलाई थप व्यवस्थित गर्न सकिने विश्वास गरिएको छ ।

क्याम्पस प्रमुख कर्णले खेलकुद मैदानमा वर्षाको समयमा पानी जम्ने समस्या समाधानका लागि पनि काम सुरु गरिएको बताए । मैदानलाई वर्षभरि खेलकुद गतिविधि सञ्चालन गर्न सकिने अवस्थामा विकास गर्ने योजना रहेको उनले जानकारी दिए ।

उनका अनुसार आगामी तीन महिनाभित्र क्याम्पस परिसरमा कंक्रिट संरचनाको बास्केटबल तथा ब्याडमिन्टन कोर्ट निर्माण गर्ने तयारी भइरहेको छ । विद्यार्थीको शैक्षिक गतिविधिसँगै खेलकुदको विकासलाई पनि प्राथमिकतामा राखिएको उनले बताए ।

राराब क्याम्पसमा विद्युतीय पुस्तकालय स्थापना भइसकेको र विद्यार्थीको मागअनुसार त्यसलाई विज्ञान भवनभित्र स्थानान्तरण गर्ने काम अन्तिम चरणमा पुगेको कर्णले जानकारी दिए ।

उनका अनुसार त्रिभुवन विश्वविद्यालयबाट प्रदान गरिने माइक्रोसफ्ट ३६५ आईडी उपलब्ध गराउन विद्यार्थीको विवरण संकलन गर्ने काम पूरा भएको छ । उक्त प्रविधिको पहुँचपछि विद्यार्थीले अध्ययन तथा अनुसन्धानका लागि विभिन्न डिजिटल सामग्री र पुस्तकको प्रयोग गर्न सक्ने उनले बताए ।

‘विद्यार्थीलाई परम्परागत पुस्तकालयमा मात्र सीमित नराखी डिजिटल स्रोतमा पहुँच पुर्याउने हाम्रो उद्देश्य हो,’ कर्णले पत्रकार सम्मेलनमा भने ।

कर्णले राराब क्याम्पसलाई अनुसन्धानमुखी शैक्षिक संस्थाका रूपमा विकास गर्ने काम पनि सुरु गरिएको बताए । उनका अनुसार क्याम्पसले पहिलोपटक Research Journal प्रकाशनको पहल गरेको छ ।

क्याम्पसले Nepal Journal लगायत अन्तर्राष्ट्रिय स्तरका जर्नलमा हुनुपर्ने विशेषता समेटिएको अनुसन्धान जर्नल प्रकाशनको प्रक्रिया अघि बढाएको कर्णले बताए । उनका अनुसार डिजिटल तथा भौतिक दुवै स्वरूपमा जर्नल प्रकाशन गर्ने तयारी भइरहेको छ ।

स्नातकोत्तर तहका विद्यार्थीलाई अनुसन्धानतर्फ प्रोत्साहित गर्न Research Management Cell (RMC) स्थापना गरिएको र त्यसमार्फत शोध तथा अनुसन्धानका लागि आर्थिक सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयको नियमअनुसार विद्यार्थीको संख्या र अनुसन्धान प्रस्तावका आधारमा छनोट गरी शोध तथा अनुसन्धानका लागि आर्थिक अनुदान उपलब्ध गराउने व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।

त्यस्तै, विभिन्न विभागमा हुने थेसिस तथा शोधकार्यलाई व्यवस्थित गर्न Research Management Cell मार्फत निश्चित कार्यविधि निर्माण गरी कार्यान्वयन सुरु गरिएको कर्णले बताए ।

पत्रकार सम्मेलनमा क्याम्पस प्रमुख कर्णले आफूविरुद्ध भइरहेका आलोचना तथा प्रचारका कारण क्याम्पस सुधारको अभियान प्रभावित नहुने बताए । उनले क्याम्पसको शैक्षिक, प्रशासनिक, भौतिक तथा अनुसन्धान क्षेत्रलाई सुधार गर्दै लैजाने आफ्नो प्रतिबद्धता दोर्होयाए ।

उनले क्याम्पससँग सम्बन्धित विषयमा सामाजिक सञ्जालमा सामग्री सार्वजनिक गर्नुअघि तथ्य र वास्तविकता बुझ्न आग्रह गर्दै क्याम्पस प्रशासनमाथि उठेका प्रश्नको जवाफ दिन आफू तयार रहेको बताए ।

कर्णले क्याम्पसको दीर्घकालीन विकासका लागि विद्यार्थी, शिक्षक, कर्मचारी, पूर्वस्ववियु पदाधिकारी, अभिभावक, पत्रकार तथा नागरिक समाजसँग सहकार्य आवश्यक रहेको उल्लेख गर्दै राराबलाई आधुनिक, प्रविधिमैत्री र अनुसन्धानमुखी शैक्षिक संस्थाका रूपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको बताए ।