कांग्रेस जनकपुरधाम नगर सभापतिमा लालबाबु मिश्र निर्वाचित
जनकपुरधाम, १३ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनकपुरधाम उपमहानगरपालिका नगर सभापतिमा लालबाबु मिश्र निर्वाचित भएका छन् । निर्वाचनमा मिश्रले २४३ मत प्राप्त गर्दै नगर सभापतिमा निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी परमेश्वर साहले १७७ मत प्राप्त गरेका छन् । मिश्रले साहलाई ६६ मतान्तरले पराजित गर्दै नगर सभापतिको जिम्मेवारी पाएका हुन् । त्यसैगरि अर्का प्रतिस्पर्धी राम प्रसाद पजियारले ५४ र संजिवले ४८ मत प्राप्त गरेका थिए ।
नगर समितिको उपसभापतिमा विरेन्द्र कुमार यादव १८८ मत प्राप्त गरि विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्दी मनमोहन साहले १६२ मत प्राप्त गरेका थिए ।
महिला उपसभापतिमा भने निर्वाचन अघि नै फुलकुमारी साह निर्विरोध निर्वाचित भइसकेकी छन् ।
नगर समितिको सचिवमा राम दयाल यादव १३४ मत प्राप्त गरि विजय भएका छन् । उनका निकटतम प्रतिद्वन्दी ध्रुवनारायण मिश्र १२३ , अर्का प्रतिद्वन्दी राहुल मिश्रले ११५ मत प्राप्त गरेका थिए ।
त्यस्तै, सहसचिवमा ज्ञानेश्वर मण्डल विजयी भएका छन् । नगरसमितिको कोषाध्यक्षमा भने सदस्यहरुबाट चुनिने व्यवस्था रहेको छ । नगर समितिमा २५ वडाका नगर सभापतिहरु पदेन सदस्य रहेका छन् भने प्रत्येक वडा बाट २र२ जना गरि ५० जना सदस्य चयन हुने व्यवस्था रहेको छ । त्यस्तै, जेनजी समूहबाट ३ जना सदस्य समेत चयन भएको छ ।
त्यस्तै, कार्यसमिति सदस्यमा अनिल मिश्र र रामबाबु यादव रहेका छन् । नयाँ नेतृत्वले जनकपुरधाम उपमहानगरपालिकाका विभिन्न वडामा पार्टीको संगठनलाई थप सक्रिय बनाउँदै आगामी राजनीतिक तथा संगठनात्मक गतिविधिलाई अघि बढाउने जनाएको छ ।
मिश्र नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट सर्वसम्मतरूपमा जनकपुरधाम नगर सचिवमा निर्वाचित भएका थिए । पार्टीको नगर सचिवका रूपमा काम गरेका मिश्रले जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडा कार्यसमितिसँग समन्वय गर्दै संगठन सुदृढीकरण, कार्यकर्ता परिचालन तथा पार्टीका गतिविधिलाई जनस्तरसम्म विस्तारमा भूमिका निर्वाह गरेको उल्लेख गरेका छन् ।
मिश्र स्थानीय, प्रदेश तथा संघीय निर्वाचनका क्रममा पार्टी संगठन परिचालन, विभिन्न तहका समितिबीच समन्वय, क्रियाशील सदस्यता वितरण तथा नवीकरण, अभिलेख व्यवस्थापनलगायतका काममा सक्रिय रहेका थिए ।
नगर सभापतिमा निर्वाचित भएपछि मिश्रले २५ वटै वडा कार्यसमितिलाई सक्रिय, सक्षम र अधिकारसम्पन्न बनाउने प्रतिबद्धता जनाएका छन् । उनले वडा र नगरबीचको समन्वयलाई सुदृढ गर्दै पार्टीको संगठनलाई जनताको घरदैलोसम्म पुर्याउने एजेन्डा अघि सारेका छन् ।
मिश्रले कार्यकर्तासँग नियमित संवाद, संगठन सञ्चालनमा पारदर्शिता र जवाफदेहिता, युवाको नेतृत्व विकास तथा महिला, दलित, मधेसी, आदिवासी जनजाति, अल्पसंख्यकलगायत सबै समुदायको अर्थपूर्ण सहभागितालाई प्राथमिकतामा राख्ने बताए ।
त्यस्तै, क्रियाशील सदस्यताको अभिलेख व्यवस्थित गर्ने, नयाँ पुस्तालाई पार्टीसँग जोड्ने, कार्यकर्ताका लागि राजनीतिक तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने र जनकपुरधामका नागरिक, बुद्धिजीवी, पेशाकर्मी, युवा तथा विभिन्न सामाजिक संघसंस्थासँग पार्टीको जनसम्पर्क विस्तार गर्ने उनको प्रतिबद्धता छ ।
आगामी निर्वाचनलाई लक्षित गर्दै वडा तहदेखि नै संगठनलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा सामाजिक सञ्जाल र आधुनिक सञ्चार माध्यममार्फत पार्टीका नीति, कार्यक्रम र गतिविधिलाई जनतासमक्ष पुर्याउने योजना पनि मिश्रले अघि सारेका छन् ।
निर्वाचित भएसँगै उनले ‘वडा बलियो, संगठन बलियो, कार्यकर्ता बलियो, कांग्रेस बलियो’ भन्ने नारालाई आधार बनाएर नगर संगठन अघि बढाउने बताएका छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



