गौशालाका पूर्वमेयर महतो र औरहीका नेता चौधरी रास्वपामा प्रवेश
जनकपुरधाम, १३ असोज । महोत्तरीको गौशाला नगरपालिकाका पूर्वमेयर एवं माओवादी केन्द्रका नेता शिवनाथ महतो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।
रास्वपा सभापति रवि लामिछानेले महतोलाई पार्टीमा स्वागत गर्दै सदस्यता प्रदान गरेका हुन् । महतोसँगै महोत्तरीको औरहीका माओवादी नेता रामबाबु चौधरी पनि रास्वपामा प्रवेश गरेका छन् ।
गौशालामा माओवादी केन्द्रका प्रभावशाली नेताका रूपमा परिचित महतो स्थानीय तहको निर्वाचनमा गौशाला नगरपालिकाको नेतृत्वसमेत गरिसकेका छन् । पछिल्लो समय उनी माओवादी केन्द्रको राजनीतिबाट बाहिरिँदै रास्वपामा आबद्ध भएका हुन् ।

महोत्तरीमा संगठन विस्तारलाई तीव्रता दिइरहेको रास्वपाले स्थानीय तहमा राजनीतिक प्रभाव राखेका नेताहरूलाई पार्टीमा भित्र्याउन थालेको छ । महतो र चौधरीको प्रवेशले गौशाला र औरहीमा रास्वपाको संगठन विस्तारमा थप प्रभाव पर्ने विश्वास गरिएको पार्टीका नेताहरूले बताएका छन् ।
माओवादी पृष्ठभूमिका नेताहरू रास्वपामा प्रवेश गरेसँगै महोत्तरीमा आगामी राजनीतिक समीकरण र दलहरूको संगठनात्मक गतिविधिमा समेत प्रभाव पर्न सक्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर



