महोत्तरी, १२ असोज । नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीलाई लक्षित गर्दै पूर्वसभापति शेरबहादुर देउवा पक्षले महोत्तरीमा रामदयाल यादवलाई जिल्ला संयोजकको जिम्मेवारी दिएको छ ।

१५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले यादवलाई जिल्ला संयोजक तोकेका हुन् ।

उनलाई महाधिवेशन तयारीका क्रममा जिल्लामा संगठनात्मक गतिविधि सञ्चालन तथा समन्वय गर्ने जिम्मेवारी दिइएको छ ।

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ४ तथा प्रदेश निर्वाचन क्षेत्र नम्बर ४(ख) का नेता यादव यसअघि कांग्रेसको पूर्व क्षेत्रीय सचिव, जिल्ला कार्यसमितिको कार्यालय सचिव तथा जिल्ला विकास समितिको पूर्व इलाका सदस्यका रूपमा काम गरिसकेका छन् ।

यादव कांग्रेस महोत्तरीको सचिव दुईपटक भइसकेका छन् भने करिब दुई वर्ष कार्यवाहक जिल्ला सभापतिको जिम्मेवारीसमेत सम्हालेका थिए । २०६२/०६३ को जनआन्दोलनका क्रममा उनले जेल जीवन बिताएका थिए ।

उनी लगातार पाँच पटकदेखि कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य रहँदै आएका छन् ।

यसअघि महोत्तरी कांग्रेसको संगठन विभाग प्रमुखको जिम्मेवारीमा रहेका यादवलाई महाधिवेशन तयारीका लागि जिल्ला संयोजक बनाइएको हो ।

जिल्ला संयोजकको जिम्मेवारी पाएसँगै यादवले महोत्तरीमा देउवा पक्षको महाधिवेशन तयारी, संगठन विस्तार तथा कार्यकर्ता परिचालनमा समन्वय गर्ने बताइएको छ ।