मतदाता नामावली नआएपछि जनकपुरधाम कांग्रेस अधिवेशनको निर्वाचन स्थगित
जनकपुरधाम, १० असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जनकपुरधाम उपमहानगरपालिका अधिवेशनको निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।
जनकपुरधाम उपमहानगरपालिका अधिवेशन निर्वाचन समितिले शनिबार सूचना जारी गर्दै जिल्ला निर्वाचन समिति धनुषाबाट मतदाता नामावली प्राप्त नभएका कारण निर्धारित निर्वाचन कार्यक्रम स्थगित गरिएको जनाएको हो ।
निर्वाचन समितिका अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) को धारा ९२(१) र १२९(५) को देहाय (ख) बमोजिम निर्वाचन प्रक्रिया अघि बढाउन मतदाता नामावली आवश्यक भए पनि जिल्ला निर्वाचन समितिबाट उक्त नामावली प्राप्त नभएको हो ।
मतदाता नामावली आइतबार बिहान प्राप्त भएपछि जनकपुरधाम उपमहानगरपालिकाको अधिवेशनअन्तर्गतको नयाँ निर्वाचन कार्यक्रम प्रकाशित गरिने निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले अधिवेशनका सम्पूर्ण प्रतिनिधिहरूलाई नयाँ निर्वाचन कार्यक्रम प्रकाशित भएपछि सोहीअनुसार निर्वाचन प्रक्रियामा सहभागी हुन अनुरोध गरेको छ ।
निर्वाचन कार्यक्रम गोपाल धर्मशालाबाट प्रकाशित गरिने सूचनामा उल्लेख छ । निर्वाचन अधिकृतका रूपमा ललितकुमार लाललाई जिम्मेवारी दिइएको छ ।



