सर्लाही, १८ भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले सर्लाहीका विद्यार्थीहरूले आफ्नो खाजाको पैसा बचाएर ५ हजार १०५ रुपैयाँ संकलन गरेका छन् ।

हरिहर जनता आधारभूत विद्यालय हरिपुर नगरपालिका–१ जानकीनगरका विद्यार्थीहरूले बाल क्लब र शिक्षकहरूको समन्वयमा रकम संकलन गरेका हुन् ।

विद्यार्थीहरूले आफूले दैनिक खाजा खान ल्याएको रकमबाट केही बचत गरी विपद्मा परेका नागरिकका लागि सहयोग गरेका हुन् ।

विद्यार्थीहरूको सहयोग अभियानमा स्थानीय शिक्षा प्रेमी शान्तिप्रसाद दुलालले ५१० रुपैयाँ, पण्डित रिखीराम काफ्लेले ७१० रुपैयाँ, मधुसुदन न्यौपानेले क्यूआरमार्फत २ हजार रुपैयाँ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर थापाले ५०० रुपैयाँ सहयोग गरेका थिए ।

विद्यार्थी र अन्य सहयोगदाताबाट संकलित गरी जम्मा ५ हजार १०५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ ।

सानै उमेरमा विपद्मा परेका नागरिकलाई सहयोग गर्न विद्यार्थीहरूले देखाएको सामाजिक तथा मानवीय भावनाको विद्यालयका प्रधानाध्यापक जय नारायण सिंहसहित शिक्षकहरूले प्रशंसा गरेका छन् ।

प्रधानाध्यापक सिंहले विपद्का बेला सहयोग र सहकार्यको भावना विकास हुनु शिक्षाको महत्वपूर्ण पक्ष भएको बताए ।

विद्यार्थीहरूको यस्तो पहलले विद्यालयमा अध्ययनरत अन्य विद्यार्थीलाई समेत सामाजिक सेवाप्रति प्रेरित गर्ने विश्वास विद्यालयले व्यक्त गरेको छ ।

विद्यालयले सहयोग अभियानमा सहभागी विद्यार्थी, शिक्षक तथा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेको छ ।