५१ हजार घुससहित विद्युत् प्राधिकरणका अधिकृत यादव पक्राउ
सुनसरी, १७ भदौ । विद्युत् जडानका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल विद्युत् प्राधिकरणका एक अधिकृत पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार नेपाल विद्युत् प्राधिकरण इटहरी शाखामा कार्यरत सातौँ तहका अधिकृत कृष्ण यादवलाई ५१ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
विद्युत् जडानको काम गरिदिने भन्दै सेवाग्राहीसँग रकमका लागि बार्गेनिङ गरेको सूचना पाएपछि अख्तियारको टोलीले निगरानी बढाएको थियो ।
सोही क्रममा यादवलाई सुनसरीको फुयँल पेट्रोल पम्प नजिकै रहेको एक होटलबाट घुस रकमसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।
पक्राउ परेका यादवमाथि सेवाग्राहीसँग गैरकानुनी रूपमा रकम मागेर विद्युत् जडानको काम प्रभावित पार्न खोजेको आरोपमा थप अनुसन्धान भइरहेको छ ।
अख्तियारले घटनासम्बन्धी थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ ।


