सर्लाही, १७ भदौ । सर्लाहीको बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक कुटिएको घटनामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

विद्यालयमा सरसफाइ गराउने विषयलाई लिएर प्रधानाध्यापकले विद्यार्थीमाथि गालीगलौज तथा दुर्व्यवहार गरेको आरोपबारे विद्यार्थी र शिक्षकबीच छलफल भइरहेको बेला घटना भएको जिल्ला प्रहरी कार्यालय मलङ्गवाले जनाएको छ ।

छलफलका क्रममा बलरा नगरपालिका–४ का ५५ वर्षीय प्रधानाध्यापक वीरेन्द्र झामाथि कुटपिट भएको थियो । कुटपिटबाट झा सामान्य घाइते भएका छन् भने उनको सवारी साधनसमेत तोडफोड गरिएको प्रहरीले जनाएको छ ।

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय मलङ्गवाले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बलरा नगरपालिका–२ का २० वर्षीय अभिषेक कापडलाई तत्काल नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको तथा घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिएका छन् ।